ऐतिहासिक न्हुः पोखरी अतिक्रमणमुक्त : ललितपुर महानगरको डोजर अभियान
काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक न्हुः पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काइदिएको छ ।
आइतबार तीनवटा डोजर र नगर प्रहरी परिचालन गरी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ । वडा नं. ५ अन्तर्गत पर्ने नेपाल सरकारको नाममा श्रेस्ता कायम कि नं. १०५ को करिब १७ रोपनी क्षेत्रफलमा रहेको जग्गा परापूर्वकालदेखि पोखरीकै रूपमा दर्ज भएको हो ।
३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा सकिएपछि महानगरले कारबाही गरेको हो ।
महानगरले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ– “लामो समयदेखि अनधिकृत रूपमा भौतिक संरचना थपिँदै जाँदा न्हुः पोखरीको अस्तित्व समाप्त हुने खतरा बढेको थियो । त्यसैले सार्वजनिक जग्गा तथा ऐतिहासिक पोखरी संरक्षण गर्ने नीतिअनुसार जिर्णोद्वार र पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट समेत विनियोजन गरिएको छ ।”
सोही क्रममा पोखरीको उत्तर–पूर्व डिलमा अवस्थित बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको संरचना समेत हटाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ तथा मुलुकी देवानी संहिता, २०७४ को दफा ३०४ बमोजिम सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय तहकै भएकोले संरचना भत्काइएको महानगरले स्पष्ट पारेको छ ।
Facebook Comment