नेपाली कांग्रेस–संबद्ध तरुण दलको जेनजी प्रदर्शनमा टिप्पणी: शान्तिपूर्ण आन्दोलन गर्न आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल तरुण दलले जेनजी पुस्ताले आयोजना गरेको आन्दोलनप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै युवाहरूसँग शान्तिपूर्ण ढंगले आन्दोलन गर्न आग्रह गरेको छ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले सूचीकृत गर्न आउनू भनेर जारी गरेको सूचना अनुसार फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल बन्द भएपछि आक्रोशित युवा पुस्ताले आयोजना गरेको जेनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनमा घुसपैठ हुन सक्ने आशंका लागेको छ।”

गुरुङका अनुसार, भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेस र नेपाल तरुण दलले सधैं आवाज बुलन्द गर्दै आएको छ। उनले थपे, “जेनजी पुस्तालाई हामी ध्यानाकर्षण गराउन चाहन्छौं–आज स्वतःस्फूर्त रूपमा आन्दोलन गर्न पाउनुभएको अवसर तिनै नेताहरूको त्याग र बलिदानले सम्भव भएको हो। तर कुनै नेताको छोरा वा छोरी भएकै कारण विरोध गर्नु कसरी न्यायसंगत हुन्छ, जेनजीलाई हाम्रो प्रश्न यही हो।”

विज्ञप्तिमा उल्लेख छ कि फेसबुक, मेटा, युट्युबजस्ता सामाजिक सञ्जाल नचल्दा धेरै युवाहरू डिजिटल प्रविधिको उपयोगबाट वञ्चित भएका छन्। यही कारणले आजको आन्दोलन आयोजना गरिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *