काठमाडौं उपत्यकामा दिउँसो कर्फ्यु खुकुलो, राति पुनः कडाइ

काठमाडौं । नेपाली सेनाले उपत्यकामा दिउँसोको कर्फ्यु हटाएर सामान्य आवतजावतको अनुमति दिएको छ। सेनाले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो।

तर, बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यु आदेश लागू हुनेछ। यस अवधिमा सार्वजनिक आवागमन, भीडभाड तथा सभा–जुलुसमा कडाइ हुने उल्लेख गरिएको छ।

निषेधाज्ञा पनि आंशिक रूपमा खुकुलो पारिएको छ। बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएपनि ११ बजेदेखि साँझ ५ बजेसम्म पुनः लागू हुने जानकारी सेनाले दिएको छ।

जेनजी आन्दोलन हिंसात्मक बनेपछि २४ भदौ राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको हो। सुरुवातमा देशव्यापी रूपमा लागू गरिएको कर्फ्यु अहिले क्रमशः खुकुलो पार्दै उपत्यकामा मात्र सीमित गरिएको छ। उपत्यका बाहिरका केही जिल्लामा भने जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा र कर्फ्यु जारी रहेका छन्।

कर्फ्यु र निषेधाज्ञा खुकुलो भएपछि उपत्यकाको जनजीवन सामान्यतर्फ फर्किएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सवारीसाधन र सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको देखिन्छ।

सुरक्षाकर्मीहरूले जनतालाई आदेशको पालना गर्न आग्रह गर्दै, अनावश्यक भीडभाड र अफवाहबाट टाढा रहन आह्वान गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *