सुन तस्करी प्रकरणका दोषी चुडामणि उप्रेती (गोरे) कारागार फर्किने
काठमाडौं । सुन तस्करीमा संलग्न आरोपमा मुद्दा चलेका चुडामणि उप्रेती (गोरे) अब कारागार फर्कने भएका छन्।
सुन्धारा कारागार प्रशासनका अनुसार, गोरेका आफन्तले सम्पर्क गरेर कारागारमा फर्कने तयारीमा रहेको जानकारी दिएका छन्। जेनजी आन्दोलनको क्रममा उनीसहितका केही व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट फरार भएका थिए।
प्रहरी अनुसन्धान अनुसार, मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ किलो सुन हराउने प्रकरणसँग सम्बन्धित रुपमा गोरे समूहले सन् २०१५ देखि २०१८ को फेब्रुअरीसम्म ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष छानबिन समितिले निकालेको थियो। सुन तस्करी र हत्या प्रकरणमा ९ जना प्रहरीसहित ६३ जना माथि मुद्दा दर्ता भए पनि सुन बरामद हुन सकेको थिएन।
यसबीच, जिल्ला अदालत मोरङले सुन बरामद गर्न नसकिएको आधारमा सबैलाई सफाइ दिएको थियो। तर न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। अन्य एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय पनि सुनाइएको थियो।
हाल जन्मकैद सजाय पाएका गोरे सम्पर्कविहीन रहेका छन्, तर अहिले कारागार फर्कने तयारीमा छन्।
Facebook Comment