प्रतिनिधि सभा विघटनसँगै ३० विधेयक निष्क्रिय
काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि संसद्मा विचाराधीन रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन्।
प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार, प्रतिनिधि सभामा उत्पत्ति भएका २१ सरकारी र २ गैरसरकारी विधेयक विघटनसँगै निष्क्रिय भएका हुन्। २०७९ मंसिर ४ को चुनावबाट आएको प्रतिनिधि सभामा दर्ता भएका जम्मा २३ वटा विधेयक यसैसँग असफल भएका हुन्।
साथै, राष्ट्रिय सभामा उत्पत्ति भएका ७ वटा विधेयक पनि प्रतिनिधि सभा विघटनपछि निष्क्रिय भएको रिपोर्ट गरिएको छ। यसमा राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन रहेका ७ विधेयक पनि पर्दछन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, प्रतिनिधि सभा विघटनको अवस्थामा प्रतिनिधि सभामा विचाराधीन विधेयक वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेका विधेयक स्वतः निष्क्रिय हुने प्रावधान संविधानमा उल्लेख छ।
संविधानको धारा १११ को उपधारा (१०) मा भनिएको छ:
कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ।
यसरी प्रतिनिधि सभा विघटनसँगै संसद्मा ३० विधेयक अलपत्र परेका छन्।


Facebook Comment