दशैं नजिकिँदै, राष्ट्र बैंकले सुरु गर्‍यो सुकिला नोट सटही

काठमाडौं । आगामी बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट सटही सुरु गरेको छ । असोज १० गतेसम्म सर्वसाधारणले देशभर यो सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित केन्द्रीय कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरूमा पनि नोट सटही गर्न सकिनेछ ।

त्यसैगरी क, ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सर्वसाधारण र संघ–संस्थाले कारोबारको समयमा सुकिला नोट साट्न सक्ने व्यवस्था गरिएको छ ।

यस वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट उपलब्ध गराउँदैछ । प्रतिव्यक्ति बढीमा १ सेट अर्थात् १८ हजार ५ सय रुपैयाँसम्म सटही गर्न सकिनेछ ।

आइतबार थापाथलीस्थित राष्ट्र बैंकमा सर्वसाधारणले नोट साट्न थालेका थिए । तर मुलुकको हालको परिस्थितिका कारण विगतका वर्षको तुलनामा सहभागिता भने न्यून देखिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *