एसिया कपमा भारतको शानदार जित : पाकिस्तान ७ विकेटले पराजित
काठमाडौं । एसिया कप २०२५ को समूह ‘ए’ मा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमै पुरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । सहीबजादा फरानले ४० रन बनाए भने साहिन शाह अफ्रिदी ३३ रनमा अविजित रहे । अन्य ब्याटर भने प्रभावशाली प्रदर्शन गर्न सकेनन् ।
भारतका लागि ओपनर अभिषेक शर्माले १३ बलमा ३१ रन बनाए । कप्तान सूर्यकुमार यादवले अविजित ४७ रनको पारी खेले । तिलक वर्माले ३१ रन जोडे भने शुभम दुबे १० रनमा नटआउट रहे ।
बलिङतर्फ भारतका स्पिनर कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै पाकिस्तानलाई दबाबमा पारे । जसप्रीत बुमराह र अक्षर पटेलले २–२ विकेट लिए भने हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १–१ विकेट झारे । पाकिस्तानका लागि शैम अयुबले ३ विकेट लिएका थिए ।
लगातार दुई खेलमा जितसँगै भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यससँगै सेमिफाइनल प्रवेश पनि लगभग पक्का भएको विभागको अनुमान छ । पाकिस्तान एक जित र एक हारसहित दोस्रो स्थानमा छ भने ओमान र युएईले अझैसम्म जीत हात पारेका छैनन् ।
समूह ‘बी’ मा भने अफगानिस्तान शीर्षस्थानमा छ, श्रीलंका नजिकै पछ्याइरहेको छ । बंगलादेश तेस्रो स्थानमा रहँदा हङकङ लगातार दुई खेलमा हार बेहोरेर पुछारमा छ ।


Facebook Comment