गृहमन्त्री अर्यालको घोषणा– जेनजी आन्दोलनका घटनामा छानबिन समिति गठन हुने
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको सत्यतथ्य उजागर गर्न छानबिन समिति गठन हुने बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि उनले आन्दोलनका नाममा देशभर भएका तोडफोड, आगजनी र हिंसात्मक क्रियाकलापबारे निष्पक्ष छानबिन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
गृहमन्त्री अर्यालले भने, ‘जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन् । ती घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ ।’
आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मान प्रकट गर्दै उनले राष्ट्रिय शोक घोषणा गरिएको जानकारी दिए । सो अवसरमा राष्ट्रिय झण्डा आधा झुकाइने र मृतक परिवारलाई काजकिरिया खर्चका लागि प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको उनले बताए । साथै, मृतकको शव घरसम्म पुर्याउने व्यवस्था मिलाइने पनि उनको भनाइ थियो ।
भदौ २३ र २४ गते काठमाडौंसहित देशभर फैलिएको जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आन्दोलनका क्रममा संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका संवैधानिक निकायका संरचना र व्यापारी भवनमा आगजनी हुँदा ठूलो जनधनको क्षति भएको छ ।


Facebook Comment