प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच बिहीबार फोनवार्ता हुने
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार बिहान साढे ११ बजे फोनवार्ता हुने भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, मंगलबार नै वार्ता गर्ने तयारी भएपनि अन्तिम समयमा तालिका परिमार्जन भई बिहीबारका लागि सारिएको हो । स्रोतले भन्यो, ‘भोलि शोकबिदा दिइएकाले पर्सि बिहान साढे ११ बजे वार्ता हुने निश्चित भएको छ।’
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्त्री बनेलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिँदै कार्कीलाई महिला सशक्तीकरणको प्रेरक उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
यस्तै, उनले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा समेत नेपालको नेतृत्वमा महिलाको उदयलाई ऐतिहासिक प्रगति भन्दै सराहना गरेका थिए ।


Facebook Comment