तीन दिनमा तीन कारागारमा झडप, गोली प्रहारमा १० कैदीबन्दीको मृत्यु

काठमाडौं ।

बाँके घटना : पाँचको मृत्यु

२४ भदौ राति बाँकेको नौबस्तास्थित बालसुधार गृहमा रहेका कैदीबन्दी (बालबिज्याइकर्ता) भाग्न खोज्दा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। घाइतेहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले झडपका क्रममा पाँच जनाको मृत्यु भएको जनाएको छ भने मृतकका अभिभावकहरूले सजाय भुक्तान गरिरहेका आफ्ना सन्तानलाई प्रहरीले अनाहकमा मारेको आरोप लगाएका छन्।

मृत्यु हुनेमा अछामका २१ वर्षीय उमेश बिष्ट, दाङका २० वर्षीय विनेश घर्ती मगर, बाँके खजुराका २० वर्षीय समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री रहेका छन्। पाँचै जना जबर्जस्ती करणी मुद्दामा बालसुधार गृह पुगेका थिए।

बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार कैदीबन्दीहरूले पर्खाल र गेट तोड्न खोजेपछि झडप सुरु भएको हो। १७६ मध्ये ७८ जना भागेका थिए, जसमा २० जना नियन्त्रणमा आइसकेका छन् भने ५८ जना अझै फरार छन्।

रामेछाप घटना : तीनको मृत्यु

२६ भदौ बिहीबार बिहान रामेछाप जिल्ला कारागार तोडफोड गरी भाग्न खोज्दा सेनाले गोली चलाउँदा तीन कैदीबन्दीको मृत्यु भएको छ। जबर्जस्ती करणी मुद्दामा सजाय काटिरहेका मोरङ विराटनगर–५ का ५१ वर्षीय राजकिशोर यादव र कर्तव्य ज्यान मुद्दामा सजाय पाएका धनुषा गणेशमान चारनाथ–३ का ५८ वर्षीय बिकरु धोबी घटनास्थलमै मारिएका हुन्। मानव बेचबिखन मुद्दामा सजाय भुक्तान गरिरहेका धनुषा जनकपुरधाम–१२ का ४५ वर्षीय मनोज महतोको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

धादिङ घटना : दुईको मृत्यु

२५ भदौमा धादिङ कारागारमा कैदीबन्दीले गेट तोडेर भाग्न खोज्दा सेनाले पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर नियन्त्रण नआएपछि चलाइएको गोली लागी दुई जनाको मृत्यु भयो।

मृत्यु हुनेमा धादिङ बेनीघाट रोराङ–४ का ६७ वर्षीय जितबहादुर घले र पश्चिम नवलपरासी सुनवल–१२ का ३८ वर्षीय इन्द्रबहादुर डाला रहेका छन्। घले जबर्जस्ती करणी मुद्दामा सजाय काटिरहेका थिए। डाला भने ७ साउन २०८० मा लागूऔषध गाँजासहित पक्राउ परेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *