श्रम र सीपलाई सम्मान दिने पर्व : विश्वकर्मा पूजा
काठमाडौं । हरेक वर्ष असोज १ गते विश्वकर्मा जयन्तीलाई धार्मिक पर्वका रूपमा मनाउने परम्परा रहेको छ। यस दिनलाई कन्या संक्रान्ति पनि भनिन्छ, जसअन्तर्गत सूर्यदेव कन्या राशिमा प्रवेश गर्ने पहिलो दिन भगवान् विश्वकर्माको पूजा–आराधना गरिन्छ।
विश्वकर्मा देवलाई हातहतियार, औजार र मेसिनरी सामानका प्रमुख देवता मानिन्छ। धार्मिक मान्यताअनुसार उनले देवताका लागि हतियार, भवन तथा मन्दिर निर्माण गरेका थिए। ब्रह्माण्डको सृष्टिमा ब्रह्मालाई सहयोग गरेको कारणले पनि विश्वकर्मालाई साक्षात् भगवानकै रूपमा पूजिने परम्परा रहिआएको छ।
विश्वभर निर्माण भएका कलकारखाना, शिल्पकला तथा देवलिपि शैलीका मन्दिरहरूलाई विश्वकर्माको सिद्धि र प्रसन्नताको प्रतीक मानिन्छ। यस दिन पूजापाठ, भजन–कीर्तन र आराधना गरेमा मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ।
पूजाको विधिमा विश्वकर्माको चित्र वा मूर्ति सजाएर राखिन्छ। दियो, कलश, गणेशको प्रतिमा स्थापना गरी धूप–दीप, अबिर, फूल, दुवो, गंगाजल लगायतका पवित्र सामग्री अर्पण गरिन्छ। घण्टा, शंख र चमर बजाउँदै भक्तजनले कीर्तन र जयघोषसहित पूजा सम्पन्न गर्छन्। पूजापछि रातभरि भजन–कीर्तन र प्रसाद वितरण गरिन्छ। भोलिपल्ट भने विश्वकर्माको प्रतिमालाई ताल, तलाउ वा खोलामा विसर्जन गर्ने प्रचलन छ।
पूजा गर्ने शैली भू–भागअनुसार फरक देखिन्छ। पहाडमा सामान्य पूजा गरेर ब्रत बस्ने चलन प्रचलित छ भने तराईमा धुमधामका साथ यसलाई उत्सवकै रूपमा मनाइन्छ। विशेषगरी मेसिनरी व्यवसायी, सवारी–साधन सम्बन्धी काम गर्ने, कलकारखाना सञ्चालक वा औजार प्रयोगकर्ताहरूले यस पर्वलाई भव्य रूपमा मनाउने गर्छन्।
विश्वकर्मा जयन्तीलाई श्रम, सीप र सृष्टिप्रति आस्था प्रकट गर्ने विशेष दिनका रूपमा लिइन्छ।


Facebook Comment