गाजामा युद्धविराम प्रस्ताव अमेरिकाको भिटोले अस्वीकृत, छैटौँ पटक अवरोध
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा गाजासम्बन्धी युद्धविराम प्रस्तावमाथि फेरि भिटो प्रयोग गरेको छ ।
सुरक्षा परिषद्को बैठकमा गाजामा तत्काल तथा स्थायी युद्धविरामको व्यवस्था गर्न र बन्धकहरूलाई मुक्त गराउन माग गरिएको थियो । तर अमेरिकाले भिटो प्रयोग गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । यसअघि पनि अमेरिकाले यस्तै विषयमा पाँचपटक भिटो प्रयोग गरिसकेको छ, यो छैटौँ पटक हो ।
सुरक्षा परिषद्को अन्य १४ सदस्य राष्ट्रहरूले भने प्रस्तावको समर्थनमा मतदान गरेका थिए । प्रस्तावले गाजाको अवस्थालाई “विपत्तिजनक” भन्दै इजरायललाई सबै प्रकारका राहत प्रतिबन्ध हटाउन आह्वान गरेको थियो ।
संयुक्त राष्ट्रसंघले इजरायलको तीव्र भइरहेको सैन्य आक्रमणका कारण गाजा सहरको अन्तिम जीवनरेखा समेत भाँचिन सक्ने चेतावनी दिइरहेको बेला अमेरिकाले यो कदम चालेको हो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा इजरायली सैन्य कारबाहीका कारण ६५ हजार १४१ जनाले ज्यान गुमाइसकेका छन् ।


Facebook Comment