‘उपहार’देखि ‘महादशा’सम्म : २२ वर्षपछि एकै स्क्रिनमा उत्तम र निरुता

काठमाडौं । चर्चित नेपाली चलचित्र दर्पण छायाँबाट दर्शकमाझ लोकप्रिय बनेका कलाकार उत्तम प्रधान र निरुता सिंह फेरि एकैपटक पर्दामा देखिन लागेका छन्। करिब २२ वर्षअघि उपहार चलचित्रमा अन्तिम पटक सँगै देखिएका यी दुई कलाकार अब निर्देशक किरण नेपालीको नयाँ फिल्म महादशामा पुनर्मिलन गर्दैछन्।

लामो समयदेखि फिल्मी नगरीबाट टाढा रहेका यी कलाकारलाई अनुबन्ध गरेको जानकारी निर्देशक नेपालीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘उत्तम र निरुताले अन्तिम पटक २००३ मा एउटै स्क्रिनमा अभिनय गरेका थिए। दुई दशकभन्दा बढी समयपछि पुनः एउटै पर्दामा देखिन लाग्दा अत्यन्तै उत्साहित छु।’

निर्माण पक्षले चलचित्रलाई आगामी दशैँपछि छायांकन गर्ने तयारी गरेको छ। महादशामा उत्तम र निरुतासँगै प्रमोद अग्रहरि, प्रेमा लामगादे, हाकिम गुरुङ र रेआर राईलगायतका कलाकार पनि देखिनेछन्।

मनिष गौतमद्वारा लेखिएको यो चलचित्रलाई राज के. शाह, श्याम मगर र अमलादेवी राईले संयुक्त रूपमा निर्माण गर्दैछन्। कथामा नेपाली परम्परा, संस्कार, संस्कृति र नागरिक जीवनमा ग्रह नक्षत्रले पार्ने प्रभावलाई केन्द्रीय रुपमा प्रस्तुत गरिने जनाइएको छ।

यस फिल्ममार्फत निर्देशनमा डेब्यू गर्न लागेका किरण नेपाली यसअघि दुई नम्बरी र हात्तिछाप जस्ता चलचित्र निर्माण गरिसकेका छन्। पछिल्लो समय पुराना कलाकार पुनः अभिनयमा फर्किने क्रम बढिरहेको छ। उत्तम प्रधान कल्लीमार्फत १३ वर्षपछि पर्दामा फर्किएका हुन् भने निरुता सिंह ३६ को आँकडाबाट पुनः सक्रिय भएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *