भीमफेदी कारागारबाट भागेकामध्ये २५९ कैदीबन्दी फर्किए, अझै २४२ फरार
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते राति भीमफेदी कारागारबाट सामूहिक रूपमा भागेका कैदीबन्दीमध्ये २५९ जना फर्किएका छन्।
कारागार प्रमुख सुवास पौडेलका अनुसार, फर्किएका मध्ये ६८ जनाले आफैं सम्पर्क गरेर कारागार फर्किएका हुन् भने बाँकीलाई सुरक्षाकर्मीले विभिन्न स्थानमा पक्राउ गरी पुनः कारागारमा बुझाएका हुन्।
उक्त राति करिब १ बजेतिर तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकका २६० र अर्को ब्लकका १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए। भीमफेदी कारागारबाट मात्रै १९८ जना नियन्त्रणमा आइसकेका छन्।
अन्य विभिन्न कारागारबाट फरार ६२ कैदीबन्दीसमेत पक्राउ वा स्वेच्छाले फर्किएसँगै अहिलेसम्म २५९ जना कारागारमा पुनः ल्याइसकिएको कारागार प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार अझै २४२ जना कैदीबन्दी फरार छन् र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।


Facebook Comment