दशैंको यात्रामा उत्साह र चिन्ता एकैसाथ : लाखौं मानिस गाउँ फर्किँदै
काठमाडौं । वर्षको सबैभन्दा ठूलो चाड वडादशैं नजिकिँदै गर्दा राजधानी काठमाडौंबाट गाउँ फर्किने यात्रुको भीड बढ्न थालेको छ । नयाँ बसपार्कदेखि विभिन्न यात्रु केन्द्रसम्म दशैं मनाउन आफ्ना घरतर्फ लाग्नेहरूको चहलपहल स्पष्ट देखिन्छ ।
काम, पढाइ र रोजगारीका कारण काठमाडौं बसिरहेका हजारौं मानिस दशैंको आगमनसँगै आफ्नो परिवार र जन्मभूमितिर फर्किंदैछन् । कसैले भारी झोला बोक्दैछन्, कसैले बालबच्चालाई पिठ्यूमा च्याप्दै, तिनको अनुहारमा घर पुग्ने उमङ्ग र परिवारसँगै चाड मनाउने उत्साह झल्किन्छ ।तर, यो खुशीसँगै चिन्ताका कारणहरू पनि जोडिएका छन् । पहिरो र कमजोर सडक संरचना, टिकट मूल्यको वृद्धि, र लामो प्रतीक्षाले धेरै यात्रु असन्तुष्ट छन् ।





नयाँ बसपार्कमा भेटिएका यात्रु नरेन्द्र जोशीले भने, ‘पहिला त यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुन्नथ्यो, अहिले भिड कम छ । तर सडक बिग्रिएको छ, बाटोमा जाम हुन्छ । त्यसैले पानी र केही खानेकुरा साथमा लिएर यात्रा गर्न सबैलाई सुझाव दिन्छु ।’
धनगढी जाँदै गरेका दीपक बहादुर खत्रीको गुनासो पनि उस्तै छ । ‘टिकट सजिलै पाइयो, तर भाडा २८–२९ सय पुगेको छ । बस ढिलो हुन्छ, बाटोको अवस्था कमजोर छ । अब नयाँ सरकारले केही सुधार ल्याउनुपर्छ,’ उनले भने ।
विद्यार्थी अनिता चौधरीलाई भने बढ्दो भाडाले अझै अप्ठ्यारो बनाएको छ । ‘विद्यार्थीका लागि दशैंमा यसरी भाडा बढाउनु उचित होइन,’उनले दुखेसो पोखिन् ।
यात्रु प्रकाश जोशीले भने मिश्रित अनुभव साटे, ‘टिकट सजिलो छ, भिड कम छ । तर भाडा अस्वाभाविक रूपमा बढेको छ । पहिरोका कारण कतिपय ठाउँमा मानिस अलपत्र परेका छन् । सरकारले समयमै सडक मर्मत गर्नुपर्छ ।’
दशैं घर फर्कने उत्साह त प्रबल छ, तर यात्रुको अनुहारमा भाडा वृद्धि, ढिलाइ र सडक अवस्थाप्रति चिन्ता पनि उत्तिकै छ । यस वर्ष उपत्यकाबाट १५ देखि १८ लाख मानिस बाहिरिने अनुमान छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मौसम सामान्य रह्यो भने करिब १८ लाख यात्रु उपत्यका छाड्ने सम्भावना जनाएको छ ।


Facebook Comment