शहरी विकासको अवधारणा एमाले कोशी प्रदेशले अघि सार्‍यो

नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको सुरुवात गरेको छ ।विभागले विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठी गर्दै अभियान शुरु भएको जनाएको छ ।‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ सहरहरूको पहिचान, शहरी पूर्वाधारहरूको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवश्यक रहेको विभागका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै इन्जिनियर प्रविन ढकालले बताए ।हरियाली सडक, अत्याधुनिक बसपार्क निर्माण, भवन रेट्रोफिटिङ तथा पुनस्र्थापना, बहुतले पार्किङ, खुल्ला क्षेत्र, शौचालयहरूको निर्माण सहरी विकासका लागि गर्नुपर्ने कार्य औंल्याइएको छ । इन्जिनियर ढकालले फोहोरको समुचित व्यवस्थापन, जलवायु परिवर्तन तथा यसले पारेको प्रभावको अध्ययन, एक शहर, एक न्यूनतम सफा र सुन्दर पोखरी निर्माण अभियान, साना, घरेलु तथा मझौला र ठुला उद्योगहरूको स्थापना गरी रोजगारीको सृजना, व्यवस्थित खानेपानी र सरसफाइको व्यवस्थापन, गाउँको सहरीकरण शहरी विकासका लागि गर्नुपर्ने काम भएको बताए ।

उनले प्रस्तुत गरेको कार्यपत्र अनुसार ठुला, मध्यम तथा साना शहरको श्रृंखला निर्माण गरी बस्ती प्रणाली अपनाउनुपर्ने, विपद् मैत्री मानव विकास, भोलीको सुरक्षित सहरका लागि आजै विपद्को पूर्व अनुमान अनुसारको योजना र नीति, सहरीकरण स्थानीय तहलाई दिनुपर्ने उल्लेख छ ।कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको समृद्धिको खाका नेकपा (एमाले)सँग मात्रै रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने नेकपा (एमाले) को नेतृत्वमा बनेका प्रदेश सरकारले सुरु गरेका महत्त्वपूर्ण विकासका योजनाहरू अवस्था, सम्पन्न नभएको योजनाहरू चाडै सम्पन्न गर्दै प्रदेशलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार र नेकपा (एमाले) लागिपर्ने बताए । सहरी विकास विभागले प्रदेशका सहरी योजनाहरू निर्माण गर्न महत्त्वपूर्ण नीतिगत सुझावहरू पेश गर्न यस्ता कार्यशालाहरूले सहयोग पुग्ने इन्चार्ज राईको भनाई छ ।कोशी प्रदेशका १४ वटै जिल्लामा शहरी विकासको अवधारणाबारे गोष्ठी गरिने विभागका प्रमुख लोकेश निरौलाले बताए । व्यवस्थित सहरका लागि शहरी नीति आवश्यक रहेको बताए । आत्मनिर्भरता तर्फ शहरी क्षेत्रलाई उन्मुख गराउने शहरी विभागको ध्येय रहेको प्रमुख निरौलाको भनाई छ । शहरी विकासका चुनौतीहरू धेरै रहे पनि चुनौतीहरूलाई समाधान गर्दै शहरी विकासका लागि विभागले प्रदेशभरि छलफल गोष्ठी गर्ने र संघीय र प्रदेश सरकारलाई शहरी विभागको अवधारणा बुझाइने बताए ।विभागका सचिव सागर थापाले विराटनगरबाट अभियानको थालनी भएको बताए । विभागले अघि सारेको अवधारणामा आएका सुझावहरूलाई समेटेर संघीय सरकार र कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिने सचिव थापाको भनाई छ । विभागले लाई चाडै प्रदेशभर कार्यक्रम गरी विभागको शहरी विकासबारेको अवधारणा तय गर्ने सचिव थापाले बताए ।

कार्यपत्रमाथि एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, योजना विज्ञ तारा निरौला, नन्द न्यौपाने, महेश मिश्र, उमेश कटुवाल, तुलसी पोखरेल , इञ्जिनियर भरत न्यौपाने, राम घिमिरे, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाल, उद्योगी अरुण राठी लगायतले सुझाव दिएका थिए ।कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु जीवन घिमिरे, युवराज बाँस्कोटा, रामलाल शाह, प्रदेश कमिटी सचिव राजकुमार भण्डारी तथा महानगर भित्रका प्रदेश सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *