ट्रम्पलाई खुसी पार्न मोदीले भन्सार घटाउने, १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिने!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी वस्तुमा लगाएको भन्सार दर घटाउने र अमेरिकी उत्पादनको आयात बढाउनेबारे सोच्न थालेका छन्।त्यस्तै अमेरिकामा रहेका करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन पनि उनी तयार देखिन्छन्।चुनाव प्रचारकै बेलादेखि ट्रम्पले आयातित वस्तुमा भन्सार लगाउने भन्दै आएका छन्। भन्सारलाई सबैभन्दा सुन्दर शब्द भन्ने ट्रम्पले व्यापार घाटा भएको देशका वस्तुमा त झन् उच्च भन्सार दर लगाउने भन्छन्।गत मार्चको अन्त्यमा सकिएको आर्थिक वर्षमा अमेरिकाको भारतसँगको व्यापार घाटा ३५ अर्ब ३० करोड डलर थियो। व्यापार घाटा घटाउन ट्रम्पले भारतीय वस्तुमा उच्च भन्सार दर लगाउलान् भनेर भारत आफैले अमेरिकासँग व्यापार सन्तुलनका लागि कदम चल्न लागेको ब्लुमबर्गले लेखेको छ।अमेरिकी वस्तुको आयात बढाएर व्यापार घाटा घटाउने भारतले सोचेको छ।

त्यसका लागि अमेरिकी वस्तुमा लगाएको भन्सार दर घटाउने र अमेरिकाबाट अझ धेरै ह्विस्की, स्टिल र तेल आयात गर्नेबारे आन्तरिक छलफल थालेको भनेर मोदी सरकारका अधिकारीको हवाला दिँदै ब्लुमबर्गले जनाएको छ।अमेरिकाको चीनसँग भइरहेको व्यापार युद्ध ट्रम्पको पालामा अझ भड्किए त्यसको फाइदा उठाउन भारतले उनलाई खुशी पार्ने योजना बनाएको छ। पहिलो कार्यकालमा पनि मोदी र ट्रम्पको राम्रो सम्बन्ध थियो। ट्रम्पले सन‍् २०२० मा भारत भ्रमण गरेका बेला मोदीले आफ्नो गृहराज्य गुजरातको राजधानी अहमदाबादमा उनकै नाममा बनाएको विशाल क्रिकेट स्टेडियमको उद्घाटन गराएर एक लाख जनतामाझ स्वागत गरेका थिए।बाइडेनको पालामा पनि भारत–अमेरिका सम्बन्ध सुधार हुँदै गएको थियो। तर बाइडेनको कार्यकालको अन्त्त्यतिर अमेरिकामा भारतीय उद्योगपति गौतम अदानी र एक रअ एजेन्टविरूद्ध मुद्दा चलेपछि सम्बन्ध केही असहज भएको थियो। गत नोभेम्बरमा मोदी–निकट अदानीले घुस खुवाएर ठेक्का जिती अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको थियो। त्यसको एक महिना अघि भारतीय गुप्तचर संस्था ’रअ’ का पूर्वअधिकारीले आफ्ना नागरिकको हत्या प्रयास गरेको आरोप लगाउँदै अर्को मुद्दा चलाएको थियो।ट्रम्पलाई गैर–न्यायिक हत्या, विधिको शासन, लोकतन्त्र, मानव अधिकार जस्ता विषयमा खासै चासो नभएकाले उनको सरकारले यी मुद्दालाई बाइडेन सरकारले जसरी अघि नबढाउने मोदीको आशा छ। तर भारतसँगको बढ्दो व्यापार घाटाका कारण उनी रिसाएर सम्बन्ध बिग्रेला भनेर मोदी सचेत देखिन्छन्।त्यसैका लागि अमेरिकामा रहेका करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन पनि उनी तयार भएको देखिन्छन्।

अमेरिकी सरकारले आफ्नोमा करिब १८ हजार अवैध भारतीय आप्रवासी रहेको पहिचान गरेको बताइन्छ। ती भारतीयलाई फिर्ता लिनका लागि प्रमाणीकरण प्रक्रिया सुरू गर्न ट्रम्प सरकारसँग कुरा गर्न तयार रहेको भनेर ब्लुमबर्गले लेखेको छ।अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले वैध तरिकाबाट अझ धैरै भारतीयलाई विद्यार्थी र उच्च दक्षता भएका कामदारको भिसा दिन भारतको विश्वास छ।अहिले नै उच्च दक्षता भएका कामदारलाई दिइने एच–१बी भिसा पाउनेमा सबैभन्दा धेरै भारतीय नागरिक पर्छन्। सन् २०२३ अमेरिकाले तीन लाख ८६ हजार विदेशीलाई एच–१बी भिसा दिएकोमा झण्डै ७५ प्रतिशत भारतीय थिए। अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले अझ धेरै भारतीयलाई एच–१बी भिसा देला भन्ने भारतको आशा छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *