बुढानीलकण्ठको भंगाल चोकबाट चितुवाको उद्धार
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ साप्रेढुंगा पुल नजिकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो ।बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो । सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय काठमाडौं प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिए ।
‘चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ,’ उनले भने ।उद्धार टोलीमा संलग्न सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुलीले शारीरिक रुपमा स्वस्थ रहेको सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरे । ‘यो चितुवा आसपासको जंगलबाट आएको हुनसक्छ । यस क्षेत्रमा चितुवा प्रायः देखिने गरेको छ,’ उनले भने ।उद्धारका क्रममा चितुवालाई नियन्त्रणमा लिन स्थानीयहरू ठूलो संख्यामा उपस्थित भएका थिए । जसका कारण उद्धार कार्य केही चुनौतीपूर्ण भएको थियो ।उद्धार टोलीमा पशुचिकित्सक डा. अशुतोष भट्ट, वन अधिकृत अशोक पराजुली, रेञ्जर सतिश दाहाल, जमदारद्वय रामचन्द्र सापकोटा र किशोर कुमार थापा, वन रक्षक सुरज पण्डित र सवारी चालक रेशम पौडेल खटिएका थिए । प्रहरी निरीक्षक सुरेश खत्रीको कमाण्डमा ७ जनाको टोली पनि सो क्षेत्रमा खटिएको थियो ।
पशु चिकित्सक डा. भट्टले यो आर्थिक वर्षमा मात्रै काठमाडौं र आसपासका जिल्लाबाट मानव बस्तीमा समस्या सिर्जना गरेका करिब ८ चितुवाको सफल उद्धार गरिसकेको जानकारी दिए ।चितुवाको आवतजावत बढ्दै गएपछि वन विभागले थप निगरानी राख्दै आएको छ । चितुवा नियन्त्रणमा लिन विभिन्न स्थानमा ट्र्यापमा पनि राख्ने गरिएको छ ।
Facebook Comment