महाधिवेशनको मिति नतोकिँदै कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति निश्चित नहुँदै केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष महर गत महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन् । महर कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् ।
महरले ‘मिसन महामन्त्री’ बनाई प्रचार सुरु गरिसकेका छन् ।पार्टीको महाधिवेशनको समय सार्ने मनोवृत्ति अन्त्य हुनुपर्ने माग सहित महरले उम्मेदवारी घोषणा गरेका छन् । राजनीति गर्नेले माथिल्लो पदमा पुग्नका लागि क्रियाकलाप गर्नु स्वभाविक हुने भएकाले आफूले महामन्त्री पदमा दाबी गरेको उनले बताए ।चार वर्षभित्र महाधिवेशन हुँदा आउने मंसिरबाट निर्वाचित कार्यसमिति आउनुपर्ने हुन्छ । विधानले एक वर्षे अवधि थप्न सकिने व्यवस्था गरेको छ । पार्टीभित्र नियमित समयमै महाधिवेशन हुनुपर्ने र मंसिरभित्र १५ औं महाधिवेशनको हुने सम्भावना नरहेको दुई थरी मत छन् । ‘नियमित समयमा महाधिवेशन गर्न अहिले भन्दा १० गुणा बढी काम गर्नुपर्दछ । अहिले दबाब सिर्जना गर्न सकिएन भने महाधिवेशन समयमा हुनसक्दैन,’ महरले भने ।
महरले १६५ निर्वाचन क्षेत्रमै पुगेर पार्टीका काम र प्रचारमा लाग्ने बताए ।महामन्त्री पदका लागि आकांक्षा राख्ने नेताहरु धेरै भएपनि सार्वजनिक रुपमा बोल्ने महर पहिलो व्यक्ति हुन् । कांग्रेसको विधान अनुसार निर्वाचित दुई महामन्त्री हुने व्यवस्था छ ।
Facebook Comment