यो सरकार अवैधानिक र जनसमर्थनविहीन: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्णतः अवैधानिक र जनसमर्थनविहीन भएको बताएका छन् ।

प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवासमा गरिएको कुराकानीमा ओलीले अहिलेको सरकार न राजनीतिक, न वैधानिक र न सामाजिक रूपमा टिक्न सक्ने आधार रहेको दाबी गरे । सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अवैधानिक सरकार भएको उनको दावी छ ।

अहिलेकी प्रधानमन्त्रीलाई संविधान र जनताले मान्यता नदिएको बताउँदै ओलीले भने, ‘अहिलेको सरकारको कुनै वैधानिक, राजनीतिक र सामाजिक आधार छैन, सुशीला कार्की नेतृत्वको सरकार अवैधानिक हो, अहिलेकी प्रधानमन्त्री प्रधानमन्त्री होइन, तथाकथित प्रधानमन्त्री मात्रै हुन्।’

वर्तमान सत्ता व्यवस्थालाई ‘हावामा झुण्डिएको सरकार’का रूपमा व्याख्या गर्दै यसको अस्तित्व नै आधारहीन रहेको तर्क ओलीको थियो । उनले भने, ‘यो सरकारको टेक्ने आधार पनि छैन, झुण्डिने आलम्ब पनि छैन, यो हावामा झुण्डिएको सरकार हो ।’

अध्यक्ष ओलीका अनुसार यो सरकार जनताले चुनेको होइन, संविधानले चिनेको पनि होइन। उनले जेनजी आन्दोलन, सर्वसाधारण नागरिक, संसद् र संवैधानिक संरचनाले समेत अहिलेकी प्रधानमन्त्रीलाई आफ्नो प्रतिनिधि नमानिसकेको तथ्य उठाउँदै भने, ‘अहिलेकी प्रधानमन्त्री कसैकी पनि प्रतिनिधि होइन, जेनजी, जनता, संसद्, संविधान—सबैले यो हाम्रो प्रतिनिधि होइन भनेर भनिसकेका छन्।’

अध्यक्ष ओलीले मुलुकलाई सही संवैधानिक मार्गमा फर्काउने एक मात्र उपाय प्रतिनिधि सभा पुनर्स्थापना भएको स्पष्ट गर्दै त्यसपछि सर्वपक्षीय सरकार गठन गर्ने बाटो संविधाबाटै खुलाउने सकिने बताए । उनले भने, ‘देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्छ, प्रतिनिधि सभाले संविधानमा व्यवस्था गरेर सर्वपक्षीय सरकार बनाउनु पर्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *