मोटरसाइकल–स्कुटर चोरी नियन्त्रणमा ट्राफिक प्रहरी सक्रिय, ५१ ओटा सवारी फर्काइयो
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

मंसिर ४ गते, बिहीबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ३३ मोटरसाइकल र १८ स्कुटर धनीलाई जिम्मा लगाएका हुन्।
ट्राफिक प्रहरीले गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु लगायत स्थानहरूबाट वास्तविक तथा नक्कली दुवै प्रकारका नम्बर प्लेट राखिएका सवारी साधन बरामद गरेको जनाएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्र ९१ ओटा चोरी भएका दुई–पाङ्ग्रे सवारी धनीलाई बुझाइसकिएको छ। साथै चोरीमा संलग्न रहेको आरोपमा १९ जनालाई ९ ओटा सवारीसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालय पठाइएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा ४१७ ओटा र २०८१/८२ मा ५०३ ओटा दुई–पाङ्ग्रे सवारी साधन फेला पारी धनीलाई बुझाइएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले सवारी चोरी रोकथामका लागि सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न आग्रह गरेका छन्।
सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरेर निवेदन दिन पनि उनले अनुरोध गरेका छन्।



Facebook Comment