जेनजी प्रदर्शन उग्र बनेपछि बारामा कर्फ्यू, प्रशासन वार्तातर्फ

काठमाडौं । बाराको सिमरामा भएको झडपपछि बढेको अशान्ति र सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाराका प्रमुख जिल्ला अधिकारीले जेन-जी नेताहरुलाई वार्तामा बोलाएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झाले जेन-जीका जिल्ला नेताहरुलाई फोन गरी वार्ताको माध्यमबाट शान्ति कायम गर्न आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेन-जी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरी वार्ताबाट समस्याको समाधान गर्न आह्वान गरे । प्रजिअको आह्वानपछि प्रशासन र जेन-जी समूहबीच वार्ता प्रक्रिया अघि बढेको छ ।

वार्ताको समय र ठाउँ भने टुंगिएको छैन । जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रशासनभित्र आन्तरिक समन्वय चलिरहेको छ ।

बाराको सिमरामा बुधबार जेन-जी युवाहरुमाथि भएको कुटपिटको विषयमा परेको जाहेरीको आधारमा दुई जना वडाध्यक्ष पक्राउ परेपनि प्रदर्शन रोकिएको छैन । कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै बिहीबार बिहानदेखि जेन-जी युवाहरुले प्रदर्शन चर्काउन थालेपछि सिमरा पुनः अशान्त बनेको छ ।

स्थानीय प्रशासनले अवस्था काबु बाहिर जान नदिने दिउँसो पौने १ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेपनि प्रदर्शन रोकिएको छैन ।

जेन-जी युवाहरुमाथि कुटपिट गर्नेहरुलाई पक्राउ गर्न बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जेन-जी युवाहरु प्रदर्शन चर्काएपनि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । त्यसपछि जेन-जी र सुरक्षाकर्मीबीच झडप भयो र अवस्था अनियन्त्रि हुन पुग्यो ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार बिहीबार दिउँसो १२: ४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ । पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया र एयरपोर्ट क्षेत्रको ५ स मिटर आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

जेन-जी प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात पनि अवरुद्ध बनेको छ । जेन-जीहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । अवस्था थप अशान्त हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । विमानस्थल क्षेत्रमा सुरक्षा अवस्था थप कडा पारिएको छ ।

बुधबार सिमरामा भएको झडपमा संलग्न ६ जनाविरुद्ध जेन-जीले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी परेका मध्ये दुई जनालाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जीतपुर सिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई पक्राउ गरिएको बताए । उनीहरु दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

बुधबार जेन-जी र एमाले कार्यकर्ताबीच भएको झडपमा ६ जना जेन-जी घाइते भएका थिए । जेन-जीले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । एमाले र जेन-जी पुस्ताका युवाहरूसित सिमरा चोकमा भएको विवाद हात हालाहालको अवस्थामा पुगेर झडपको रुप लिएको थियो ।
‘हाम्रा युवा साथीहरुमाथि कुटपिट गर्नेउपर दिएको जाहेरीमा संलग्नलाई पक्राउ नगरेपछि प्रदर्शन गर्नुपरेको हो,’ जेन-जीका बारा जिल्ला संयोजक सम्राट उपाध्यायले भने ।

शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरी बल प्रयोग गर्दा अवस्था तनावपूर्ण बनेको उनको दाबी छ । बुधबार जेन-जी र एमाले कार्यकर्ता बीच भएको झडपले दिनभर तनावपूर्ण र अशान्त बनेको सिमरा बिहीबार थप अशान्त र उग्र बनेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *