लोकतन्त्र जोगाउन एमालेको दृढ संकल्प : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित जनसभा र ¥यालीमा देशको लोकतान्त्रिक प्रणाली, संविधानको कार्यान्वयन, र सुशासन कायम गर्न पार्टी दृढ संकल्पित रहेको बताएका छन्।

सभामा ओलीले स्पष्ट पारे, नेकपा एमाले चुनाव, सांसद, मन्त्री वा प्रधानमन्त्री बन्न मात्र नभई, देशको सार्वभौमिक सत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि क्रियाशील रहेको बताए।

उनी भन्छन्, ‘अराजकता लामो समय टिक्दैन। नेकपा एमालेले छिट्टै यसलाई अन्त्य गर्दछ। पार्टी जनताको पक्षमा छ र जनताको नेतृत्वमा देशमा शान्ति, सुशासन र विकासलाई अघि बढाउँछ।’

ओलीले प्रतिनिधिसभा विघटन र असंवैधानिक सरकारको विषयमा कडा प्रतिक्रिया दिँदै भने, ‘देशमा संविधान अनुसार नबनेको र असंवैधानिक ढंगले बनेको सरकार छ। विघटित प्रतिनिधिसभा अभिलम्ब पुनःस्थापना हुनुपर्छ। यही एकमात्र सही बाटो हो।’

यस्तै, उनले जेएनजी आन्दोलनसँग सम्बन्धित विवादमा पार्टीको धारणा स्पष्ट पारे। ओलीले भने, ‘जेएनजी नामको आन्दोलनको प्रयोग विभिन्न अराजक तत्वहरूले गरे। तर नेकपा एमालेले युवाहरूलाई भ्रामक रूपमा प्रयोग हुन नदिन समर्थन मात्र गर्यो; हिंसा र विध्वंसलाई कहिल्यै समर्थन गरेको छैन।’

सभामा उनले प्रहरी र सुरक्षाकर्मीप्रतिको सम्मान व्यक्त गर्दै, ‘राज्यले सुरक्षा दिन नसकेको अवस्थामा टोलटोलमा सुरक्षा समितिहरू गठन गर्नुपर्ने अवस्था आएको छ। तर यसले हिंसा वा आगजनी गर्न पाइँदैन,’ भने।

अध्यक्ष ओलीले सबै राजनीतिक दलहरूलाई भावनामा नबग्न र लोकतन्त्रको पक्षमा एकजुट हुन आग्रह गर्दै भने, ‘सर्वदलीय सहमतिमा संसद पुनःस्थापना गर्नुपर्छ, संसदबाट संविधान संशोधन गर्नुपर्छ र जनताको बहुदलीय लोकतन्त्र कायम राख्नुपर्छ।’

ओलीले पार्टीका नेता, कार्यकर्ता र युवाहरूलाई राष्ट्रिय कार्यमा सक्रिय भई जनसँस्थासँग सहकार्य गर्न आह्वान गरे, र जोड दिए, ‘नेकपा एमाले देशभक्त, जनताप्रेमी र लोकतन्त्रप्रेमी पार्टी हो। हाम्रो संकल्प अटल छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *