लोपोन्मुख काग्नी साम्पाको पुनर्जीवन, मुगुममा उदायो ऐतिहासिक चिटिम पुल

काठमाडौं  । मुगुको पूर्वी क्षेत्रमा रहेको लामा समुदायको बसोबास रहेको मुगमकार्मारोङ गाँउपालिका–२ मुगुम गाँउमा नेपालकै नमूना मानिएको परम्परागत शैलीको प्रवेशद्वार छ । गाउँमा छिर्ने द्वार वा लामा भाषामा (काग्नी साम्पा) निर्माण गरिएका छन् । यही शैलीमा बुद्धपार्क प्रवेशद्वार निर्माण गरिएको छ । जसलाई ‘चिटिम शैली’ भनिएको छ ।

मुगुम गाउँमा बनेको अनौठो नमूना शैलीको काठे पुलले गाउँ मात्र होइन, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको छ र कर्णालीकै ध्यान तान्ने देखिन्छ । धार्मिकता, वास्तुकला र स्थानीय श्रम–सीपको सुन्दर संयोजनमा निर्माण सम्पन्न भएको हो । गाँउमा केही बिकास गर्नुपर्छ तत्कालको लागि फाइदा नभएपनि आउँदा दिनमा पुलबाट राम्रो लाभ लिन सकिने अनुमान गरिएको छ ।

पुल १९ फिट अग्लो, ५० फिट लम्बाई ५ फिट चौडाई छ । दुई स्तुपा ३१ फिट अग्ला ,१२ फिट चौडाई छ भने भर्याङहरुको चौडाई १५ र उचाई ९ फिट रहेको दुबै स्तुपाहरुको भित्री भागमा आकर्षक कलाकृतिले सजाइएको छ ।

४१ लाख ६७ हजार ७ सय ८३ रुपैयाँको लागतमा निर्माण भएको पुलमा पुल निर्माणमा रिकिका ब्रकनर लामा ठिन्ले कारुन फाउन्डेसनका अध्यक्ष ठिन्ले लामाले लगानी गरेका छन् भने स्थानीय मजदुरहरुको सीप प्रयोग गरिएको छ ।

चिटिम शैलीको यो पुल भौतिक संरचना मात्र नभई हराउँदै जान थालेका सांस्कृतिक धरोहरलाई पुनर्जीवित गर्ने महत्वपूर्ण प्रयास भएको मानिएको छ । सडक विस्तारसँगै अन्य भौतिक पूर्वाधारका विकास निर्माणले गाउँ–गाउँका काग्नी साम्पा (छिर्ने चिटिम) हराउँदै जान थालेपछि लामा–बौद्ध परम्परालाई सुरक्षित राख्ने उद्देश्यले पुल निर्माण सुरु गरिएको रिकिका ब्रकनर लामा ठिन्ले कारुन फाउन्डेसनका अध्यक्ष ठिन्ले लामाले बताए ।

पुल निर्माणले धार्मिक परम्परा, इतिहास र सांस्कृतिक पहिचान जोगाउनुका साथै मुगुम गाउँ आउने तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र गाउँको पहिचानलाई समेत बदल्ने अनुमान गरिएको छ ।

‘२०६६ सालदेखि यस्तो संरचना जगेर्ना गर्न सकिने मोडल अध्ययनमा जुटेका थियौं अहिले सडकहरू विस्तार हुँदै जाँदा गाउँ–गाउँका पुराना काग्नी साम्पा (छिर्ने चिटिम) भत्काउनुपर्ने अवस्था छ । सानो पार्नुपर्ने स्थिति बन्न थालेका बेला यो शैलीको संरक्षण गर्ने सपना साकार भएको छ,’ पुल डिजाइनर सोनाम गिर्मे लामाले भने,‘पुलले धार्मिक पर्यटन, देवभूमि प्रवेश तथा स्थानीय आवतजावतमा उल्लेख्य टेवा पु¥याउने विश्वास छ ।’

यसअघि बुद्ध पार्क, बन जङ्खल, घाँस दाउरा ल्याउन, खेतीपाती गर्न खेतमा जाँदा मुगु कर्णाली तर्नुपर्ने नदीबाट बुढाबुढी, बालबच्चालाई समस्या भएको थियो तर अब सहज भएको छ । पुल निर्माणले गाउँले खुशी भएको स्थानीय टासी लामाले बताए ।
पुल बनाउन ठूलो कुरा होइन तर संरक्षण गरी प्रयोगमा ल्याउन ठूलो कुरा भएकाले संरक्षण सबैले गर्नुपर्नेमा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिस्नु बुढाले बताए ।

स्थानीय सरकारले गर्न नसकेको काम रिकिका ब्रकनर लामा ठिन्ले कारुन फाउन्डेसन मुगुले गरेको छ । उक्त संस्थाले बुद्ध धर्मसंग मेल खाने पुल निर्माण गरेकाले सहयोग गर्ने सबैलाई स्थानीय सरकारका तर्फबाट सम्मान गरेको गाँउपालिका उपाध्यक्ष पुटीक लामाले बताइन् ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले पुल निर्माणले गाउँको मात्र नभई गाउँपालिकाको गौरव भएको बताए । पुल उद्घाटन गर्दै उनले संस्कृतिमा चिटिम केवल ढोका मात्र नभई देवता प्रवेश गर्ने मार्ग भएको बताए ।

समुदायको सुरक्षा र पहिचानको प्रतीक मानिएको पुलले धार्मिक गुरु तथा तीर्थयात्रीले यात्राका ‘आशीर्वादको प्रवेशद्वार’का रूपमा लिने अनुमान समेत गरिएको छ ।

बजेट अभावले स्थानीय सरकारले गर्न नसकेको काम एक फाउन्डेसन वा एक ब्यक्ति ले ४१ लाखमा सम्पन्न भएपनि सरकारले काम गर्ने हो भने ६० लाख भन्दा बढी खर्च लाग्ने देखिन्छ ।

मुगुमा नेपालकै नमुना काग्नी ‘चिटिम शैली’को पुल निर्माण पछि समुदायमा हस्तान्तरण कार्यक्रममा स्थानीयबासीहरुले खुसीका साथ लोपन्मुख गहना, स्थानीय भेषभुषा, पहिरनमा मौलिक नाच देखाइएको थियो । जनजागृति आधारभूत बिद्यालयका विद्यार्थीहरुले जनचेतनामुलक नाच र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *