नेइमारले छाडे अल हिलाल
साउदी क्लब छाडेसँगै उनी आफ्नो बाल्यकालको ब्राजिलियन क्लब सान्तोसमा फर्किने चर्चा उच्च छ । “अल–हिलालमा उनले दिएको कुराहरूप्रति क्लब धन्यवाद र आभार व्यक्त गर्दछ । क्लब उनको आगामी करियरमा सफलताको कामना गर्दछ,” अल–हिलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अल–हिलाल र नेइमारबीच भएको सम्झौताको सात महिना बाँकी नै थियो । साउदी क्लबसँग जोडिँदा नेइमारले ‘खेलकुदमा नयाँ इतिहास लेख्न चाहेको’ बताएका थिए । तर, दुई वर्षको सम्झौता भए पनि नेइमार अधिकांश समय चोटका कारण मैदानबाट बाहिर रहे ।सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आबद्ध हुनुअघि नेइमारले सान्तोसबाट २२५ खेल खेल्दा १३६ गोल गरेका थिए । त्यसपछि उनले स्पेनिस क्लबबाट १८६ खेल खेल्दा दुईपटक ला लिगा, एकपटक च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिते ।नेइमार सन् २०१७ मा स्पेनिस क्लबबाट कीर्तिमानी मूल्यमा पीएसजीमा अनुबन्धित भएका थिए ।
उनलाई पीएसजीले २०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । यो फुटबलको खेलाडी सरुवा इतिहासमा हालसम्मकै सबैभन्दा धेरै मूल्य हो ।ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका नेइमारले अन्तर्राष्ट्रिय फुटबलमा ७८ गोल गरेका छन् ।
Facebook Comment