अखिल क्रान्तिकारीको मतपत्रमा मसी विवाद- रातोलाई मात्रै सदर गर्नुपर्ने अध्यक्षका तीन उम्मेदवारको अडान
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन अध्यक्ष उम्मेदवारले मतगणना सुरु गर्न माग गरेका छन् । उम्मेदवारत्रय हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले मतदान भएको बाल्मीकि क्याम्पसमा नै मतगणना हुनुपर्ने माग गरेका हुन् ।
उनीहरुले बाँकी विषय थाँती राख्दै मतदानपश्चात बाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे संयुक्त सुझाव पनि दिएका छन् । रेजाको लागि निर्वाचन समितिले व्यवस्था गरेको रातो मसी कलमद्वारा रेजा लगाइएको मतमात्र गणना गरिनुपर्ने र रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनुपर्ने माग उनीहरुको छ ।विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणनामा यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो । तीन उम्मेदवारले कालो मसी भएको फर्जी मत भएको हुनसक्ने आशंका गरेका छन् ।
अर्का उम्मेदवार विजय सापकोटा भने कालो मसीलाई सदर गर्ने पक्षमा छन् । उपत्यका र विश्वविद्यालयबाहेकको गणनामा सापकोटाले ४५३ मत पाएका छन् भने राईले ४३० मत पाएर उनलाई पछ्याइरहेका छन् ।
Facebook Comment