खानेपानी तथा सरसफाइका क्षेत्रमा लगानी गर्न खानेपानीमन्त्रीको आग्रह
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइका क्षेत्रमा अधिकतम लगानी गर्न विकास साझेदारसँग आग्रह गरेका छन् ।खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिका लागि भावी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन् ।
नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै उनले १० माघमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ कार्यान्वयनमा आइसकेको बताए ।खानेपानी तथा सरसफाइ क्षेत्रमा बजेट घट्दो क्रममा रहेको र सन् २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पु¥याउने दीगो विकास लक्ष्य हासिल गर्न चुनौती रहेको उनले बताए । आवधिक योजनाहरूले तोकेको लक्ष्य पूर्ण रूपमा हासिल गर्न नसकिएको अनुभव रहेको भन्दै उनले आर्थिक वर्ष २०८५\८६ सम्म पूरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पनि अत्यन्त चुनौतीपूर्ण देखिएता पनि क्षेत्रगत लक्ष्यहरू पूरा गर्न सरकार लागि परेको उनले बताए ।दातृ निकाय र विकास साझेदार क्षेत्रबाट पनि उच्चतम लगानीको आवश्यकता महसुस गरी दातृ निकाय, विकास साझेदार लगायत वास क्षेत्रमा काम गरिरहेका सबै निकायलाई उच्चतम लगानी गर्न उनले आग्रह गरे ।
तीनै तहबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै सबै नेपालीको घर घरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पु¥याउने अभियान सफल बनाउने साझा लक्ष्य पूरा गर्न उनले सबैसँग आग्रह गरे ।
Facebook Comment