प्रधानमन्त्री ओलीले भने : भ्रष्टाचार नियन्त्रण स्टन्टबाजी होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताए । उनले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए । ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन,’ उनले भने ।

उनले अगाडि भने, ‘हुन त हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जनाले भनिरहेका थिए, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या ।’प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *