फागुन २१ को निर्वाचनका लागि निर्वाचन प्रहरी आवेदन म्याद विस्तार

काठमाडौं । कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ।

गत पुस २५ गतेदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको कारण शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ। समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कास्कीमा २,३०३ निर्वाचन प्रहरी परिचालन गरिनेछ। दरखास्त जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा बुझाउन सकिनेछ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, पूर्व निर्वाचन म्यादी प्रहरी र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने व्यक्ति दरखास्त दिन सक्ने बताए। माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सम्पन्न गरिने र १२ गते नतिजा प्रकाशन गरिनेछ। छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म प्रशिक्षण दिइनेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ।

निर्वाचन प्रहरीलाई ४० दिनको रु ३४,७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु १,२०० उपलब्ध गराइनेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी भर्ना, छनोट र नियुक्ति गरिनेछ। जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ।

कार्यालयले अवैध हातहतियार भएको व्यक्ति वा समूहले माघ १५ भित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक रूपमा सूचित गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न यही आग्रह गरिएको हो। तोकिएको समयमा हातहतियार बुझाएनन् भने प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *