उपचार नभएको स्वाइन फिभरबाट हेटौंडामा एक सय बंगुर मरे
हेटौंडामा स्वाइन फिभर भाइरसका कारण १ सय बंगुर मरेका छन् । पशु सेवा कार्यालय हेटौंडाका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ मा स्वाइन फिभरका कारण विशेष गरी हेटौंडा उपमहानगरपालिका भित्रका विभिन्न वडामा बंगुरहरु मरेको अवस्थामा खोरमै भेटिएका हुन् । चालु आवमा यस रोगका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा ९०, वडा नम्बर–१७ मा ७ र वडा नम्बर ११ मा ३ वटा बंगुरको ज्यान गएको कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरले बताएका छन् । ‘यो रोगको कुनै ठोस उपचार नभएको कारण हामीलाई नियन्त्रण गर्न समस्या भयो,’ कार्यालय प्रमुख ठाकुरले भने । स्वाइन फिभरबाट मृत्यु भएका बंगुरलाई आवश्यक सर्तकताका साथ खाल्डो खनेर पुर्ने, पशु हेरचाहमा विशेष सुरक्षा सामग्रीको प्रयोग गर्ने जस्ता सावधानी अप्नाउने गरिएको उनले बताए ।
एएसएफ भाइरसका कारण देखापर्ने स्वाइन फिभर रोग सन् २०२२ मा काठमाडौंको कागेश्वरी मनहरामा पहिलो पटक देखिएको थियो । नेपालमा हाल १ लाख ५८ हजार ८ सय वटा बंगुर रहेको कार्यालयले उपलब्ध गराएको तथ्याकंमा उल्लेख छ । स्वाइन फिभर रोग लागेमा बंगुरको शरीरमा रगतको धब्बा देखिने, १०५ डिग्री फरेनहाइटभन्दा माथि उच्च ज्वरो आउने, रगतमासी देखिने, श्वास फेर्न गा¥हो हुने, खाना नखाने र गर्भ तुहिने जस्ता लक्षणहरू देखापर्ने कार्यालयका पशु चिकित्सक विजय पौडेलले बताएका छन् । रोग नियन्त्रणका लागि पशु ढुवानी ओसारप्रसारमा रोक, खोर स्वच्छता र फोहोर व्यवस्थापनमा विशेष जोड, अनावश्यक रूपमा पशुसँगको सम्पर्कमा रोक जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने चिकित्सक पौडेलले बताएका छन् । कार्यालयले २० जना बंगुरपालक कृषकलाई यस रोगबारे जानकारी दिएर प्रत्येक किसानहरुलाई कार्य सुरक्षाका निम्ति फिनेल, चुना, माक्स, एप्रोन र ग्लोब्सको वितरण समेतउ प्रदान गरेको जनाएको छ । साथै रोगका कारण बंगुरको मृत्यु भएमा पशु सेवा कार्यालय हेटौंडामा सम्पर्क गरी राहतस्वरुप अनुदान रकम लिन सकिने व्यवस्था रहेको छ ।
Facebook Comment