बेलायती राजकुमार एडवार्ड नेपालमाः राष्ट्रपति पौडेलसँग ब्रिटिस गोर्खा र जलवायु परिवर्तनबारे छलफल
नेपाल भ्रमणमा आएका बेलायती राजकुमार एडवार्ड ले राष्ट्रपति रामचन्द्र पौडेलसँग ब्रिटिस गोर्खा र जलवायु परिवर्तनबारे छलफल गरेका छन् । मंगलबार अपराह्न शीतलनिवासमा भएको ३५ मिनेटको भेटवार्तामा पौडेलले स्थापित द्विपक्षीय संयन्त्रमार्फत गोर्खा सैनिकको जायज माग पूरा हुने विश्वास व्यक्त गरेका छन् ।‘जलवायु परिवर्तन र ब्रिटिस गोर्खा सैनिकको पेन्सनका सन्दर्भमा छलफल भयो । राष्ट्रपतिको स्तरबाट नेपालले बेलायतको राजपरिवारका सदस्यलाई ब्रिटिस गोर्खाको मागबारे चासो व्यक्त हुनुलाई हामीले महत्वपूर्ण मान्नुपर्छ,’ राष्ट्रपति पौडेलका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेले भने । राष्ट्रपति पौडेलले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरे ।
राष्ट्रपति भवन शीतलनिवास कुनै समय नेपाल सरकारको राजकीय अतिथिगृहका रूपमा रहँदा अधिराजकुमार एडवार्डकी आमा बेलायतकी महारानी एलिजावेथ द्वितीया त्यहीँ बसेकी थिइन् । राष्ट्रपति पौडेलले यो स्मरण गराउँदै उनलाई ‘तपाईंलाई शीतलनिवासमा स्वागत छ’ भनेको चालिसेले बताए ।बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको एडवार्डले बताएका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार एडवार्डले ब्रिटिस सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै दुई देशको सम्बन्धमा ब्रिटिस गोर्खा सैनिक कोसेढुंगा रहेको उल्लेख गरेका थिए । एडवार्डले नेपाल बेलायतबिच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय सान्दर्भिक हुने पनि बताएका थिए । राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबिच रहिआएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताएका थिए । बेलायतकी महारानी एलिजाबेथ द्वितीया र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण पौडेलले स्मरण गरे । नेपालको चौतर्फी विकासमा सहयोग पु¥याउँदै आएकोमा बेलायतलाई धन्यवाद दिए । नेपाल भ्रमणका लागि एडवार्ड धर्मपत्नी सोफियासहित मंगलबार काठमाडौं आएका हुन् । एडवार्ड दिल्लीबाट र सोफिया लन्डनबाट बेग्लाबेग्लै समयमा काठमाडौं आएका थिए । उनीहरूलाई परराष्ट्रसचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरेका थिए । भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न चाहेको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय भएको र यसको मारमा नेपाल परेको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको बताए ।
यही सन्दर्भमा नेपालले आगामी २ देखि ४ जेठसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको र त्यसको प्रमुख विषय ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ रहेको राष्ट्रपतिले बताएका थिए । ‘भेटवार्ताले बेलायत–नेपाल ऐतिहासिक सम्बन्धको न्यानोपन र गहिराइका साथै सम्बन्धको आधारशिलाको रूपमा गोर्खाहरूको भूमिकाप्रति बेलायतमा रहेको ठुलो सम्मानलाई प्रकाश पारेको छ,’ नेपालस्थित बेलायती दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Facebook Comment