ग्याङहरू ठेगान लगाएको एल साल्भादोरको अमेरिकालाई प्रस्ताव- तिम्रा अपराधीहरू लेउ, पैसा देऊ

ल्याटिन अमेरिकी मुलुक एल साल्भादोरले अमेरिकासँग अदालतबाट प्रमाणित अपराधीहरू पठाउन माग गरेको छ । हजारौँ ग्याङ सदस्यहरूले तहसनहस बनाएको देशमा ग्याङलाई नै तहसनहस बनाएर चर्चित बनेका राष्ट्रपति नायिव बुकेलेले यस्तो आग्रह गरेका हुन् ।४३ वर्षका राष्ट्रपति बुकेलेले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटमा यस्तो प्रस्ताव गरेको रुबियोले सार्वजनिक गरिसकेका छन् ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले दिएको सूचना अनुसार एल साल्भादोरले आपराधिक आप्रवासीहरू, भेनेजवेलाका ग्याङ सदस्यहरू तथा अरू अपराधीहरू लिन तयार भएको बताएको छ । त्यसमा अमेरिकाले धन्यवाद दिएको छ । रुबियोले सार्वजनिक गरेपछि बुकेलेले पनि सामाजिक सञ्जाल एक्समा यसको औपचारिक पुष्टि गरेर आफूले त्यस्तो प्रस्ताव गरेको बताएका छन् । उनले अमेरिकासँग पैसा लिएर अपराधिहरु ल्याउन सकिने बताएका छन् ।उनले यसलाई ‘अमेरिकी जेल प्रणाली’ एल साल्भादोरमा सार्ने नाम दिएका छन् । अमेरिकालाई थोरै रकममा त्यस्तो सुविधा दिने भन्दै बुकेलेले त्यसले एल साल्भारोको जेल प्रणाली पनि दिगो हुने बताएका छन् । सन २०२३ मा एल साल्भादोरले बनाएको मेगा जेलमा ४० हजार कैदी अटाउने बीबीसीले उल्लेख गरेको छ । आतंकवाद नियन्त्रण कक्ष भनेर चिनिने यसलाई धेरैले प्रशंसा र केहीले आलोचना गरेका छन् ।जथाभावी पक्राउ गरिएको, परिवारलाई भेट्न नदिइएको र यातना दिइएको तथा दुई छाक खाना बाहेक केहि नदिइएको भन्दै मानव अधिकार पक्षधरहरूले आलोचना गर्दै आएका छन् । तर, राष्ट्रपति बुकेलेले आतंकवाद अन्त्य गर्न यो आवश्यक भएको बताएका छन् ।उनी यही मुद्दाले चर्चित छन् । हाल ८० हजार भन्दा धेरै ग्याङ सदस्य थुनामा छन् । त्यसले संसारको सबैभन्दा जोखिमपूर्ण देशको सूचिमा परेको एल साल्भादोर त्यो सूचिमा तल आएको छ भने बुकेलेको लोकप्रियता चुलिएको छ । सन २०११ मा राजनीतिमा आउने उद्घोषण गरेका यि पूर्व व्यापारी सन २०१२ मा एल साल्भादोरको नोएभा कुस्काट्लान सहरको मेयर बने । सन २०१५ मा उनी सान साल्भादोरको पनि मेयर भए । तर, उनले राष्ट्रपति बन्न खोज्दा उनको दलले उपराष्ट्रपतिको पनि नाम दिन चाहेन ।

उनले विद्रोह गरेर आफै दल खोले । सन २०१९ मा राष्ट्रपति बने । सन २०२४ मा दोहोरिए । एलन मस्क र ट्रम्पसँग सीमा सम्पर्क भएका उनी अमेरिकी चुनावमा खुलेर ट्रम्पको पक्षमा लागेका थोरै विश्व नेतामा एक नेता थिए । अहिले उनैको पहलमा अपराधीहरू एल साल्भादोर ल्याउने चर्चा चलेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *