१२ औं महाधिवेशन गर्न नेविसंघले सुरू गर्यो सदस्यता वितरण
पार्टीले तोकेको समय चैतभित्रै महाधिवेशन गर्न प्रारम्भिक तयारीअनुसार नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशन गर्न सदस्यता वितरण सुरू गरेको छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबारदेखि देशैभरका क्याम्पसहरूमा सदस्यता वितरण अभियान सुरू गरिएको बताएका छन् । उनकाअनुसार सदस्यता वितरणलगायत विभिन्न जिम्मेवारीसहित ११३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटिएका छन्। अबको १५ दिनसम्म सदस्यता वितरण अभियान सञ्चालन हुने शेर्पाले बताए। ‘अबको १५ दिनसम्म सदस्यता वितरण गरिन्छ, अनलाइनबाट पनि सदस्यता लिन मिल्ने व्यवस्था छँदैछ,’ अध्यक्ष शेर्पाले भने, ‘१२ औं महाधिवेशन गर्न सदस्यता वितरण गरिएको हो।’ केन्द्रीय प्रतिनिधि खटाउने विषयमा देखा परेका विवादहरू समाधान गर्दै जाने र यसका लागि संवाद भइरहेको उनले बताए। नेता शेखर कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रमिका राना मगरले पुस ५ गते विज्ञप्ति निकालेर ७७ वटा क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेकी थिइन्।
Facebook Comment