कालोसूचीमा राख्ने चेतावनीसहित ‘नोटिस टु करेक्ट’ पत्र पठाएपछि ग्वार्को फ्लाई ओभर बनाउन फर्कियो ठेकेदार कम्पनी

ललितपुरस्थित ग्वार्काे चोकमा निर्माणाधीन ‘फ्लाई ओभर’ परियोजनाको निर्माण कार्य एक महिनादेखि अलपत्र पारेको ठेकेदार कम्पनी काममा फर्किएको छ । इपिसी (इन्जिनियरिङ प्रोक्योर्मेन्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा ठेक्का प्राप्त आरसी, समानान्तर र रेलिग्रे जेभीले पछिल्लो एक महिनादेखि परियोजनाको निर्माण कार्य ठप्प पारेका थिए । मंगलबारदेखि आंशिक रूपमा काम सुरु गरेको कम्पनीले बुधबार ‘नोटिस टु करेक्ट’ पत्रको जवाफ पनि एक पानामा सडक विभागलाई बुझाएको छ ।कुनै जानकारी नदिई काम छोडेको देखेपछि विभागले माघ पहिलो साता कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनीसहित ‘नोटिस टु करेक्ट’ पत्र पठाएको थियो । त्यसको जवाफ सात दिनभित्र नआएपछि विभागले १५ माघमा दोस्रोपटक कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पत्र पठाएको थियो । बुधबार त्यसको जवाफ पेस गर्दै कम्पनीले मंगलबारदेखि काम सुरु गरेको र बाँकी काम आवश्यक तयारी पूरा गरेर गर्ने जानकारी दिएको छ ।

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले पनि निर्माण कम्पनीबाट पत्र प्राप्त भएको बताए । ‘कम्पनीले एक पानाको जवाफ पेस गरेको छ । त्यसमार्फत मंगलबारदेखि नै काम सुरु गरेको जानकारी दिएको छ । बाँकी काम पनि आवश्यक तयारी पूरा गरेर सुरु गर्ने बताएको छ,’ उनले भने ।कम्पनीले विभागबाट औँल्याइएका त्रुटि सच्चाउने योजना बनाउन काम रोकेको जवाफ दिएको छ । अब विभागले औँल्याएका त्रुटि सच्चाएर काम गर्ने कम्पनीको प्रतिबद्धता छ । विभागले कम्पनीलाई फ्लाई ओभरबाट सातदोबाटोतर्फ झन्डै ४० मिटर ¥याम्प (फ्लाई ओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको विशेष संरचना)मा त्रुटि देखिएपछि विभागले त्यसलाई पुनःनिर्माण गर्न भनेको थियो । त्यसको पुनःनिर्माणका लागि योजना बनाउन काम रोक्नुपरेको बताइएको छ । मंगलबारदेखि कम्पनीले त्यहाँको माटो, कंक्रिट प्यानल तथा ब्लक झिक्न सुरु गरेको छ ।

यस्तै, कम्पनीले बुधबार नै एप्रोच ट्रयाक (पुल र पर्खालबिच हुने स्ल्याब)को डिजाइन पनि पेस गरेको छ । त्यो डिजाइन विभागबाट स्वीकृत भएपछि निर्माण सुरु गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ । साथै, आकासे पानीलाई व्यवस्थापन गर्नेलगायतको संरचनाको अन्तिम डिजाइन भने छिट्टै पेस गरिने कम्पनीको जवाफ छ ।सम्झौताअनुसार कम्पनीले १२ फागुन ०८० भित्र फ्लाई ओभरको निर्माण गरिसक्नुपर्ने थियो । तर, त्यस अवधिमा काम नसकिएपछि विभागले असार ०८१ सम्म म्याद थप गरिदिएको थियो । त्यस अवधिमा पनि काम नभएपछि अन्तिम मौकास्वरूप ९ पुस ०८१ सम्म म्याद थप गरिएको थियो । अन्तिम अवधिमा पनि काम नसकिएपछि कम्पनीले १० पुसयता हर्जाना तिरेर काम गरिरहेको छ । यसमा कम्पनीले ठेक्का रकमको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ, जुन एक करोड ७० लाख रुपैयाँ हाराहारी हुन आउँछ । हर्जाना लाग्ने मितिबाट २०० दिनभित्र कम्पनीले काम सम्पन्न गरिसक्नुपर्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *