मस्कको समूहले ९७ अर्ब डलरमा किन्न खोज्यो ओपनएआई
विश्वकै धनाढ्य अमेरिकी उद्यमी एलन मस्क नेतृत्वको समूहले ओपनएआईको मुख्य गैरनाफामूलक संस्था खरिद गर्ने प्रस्ताव अगाडि सारेको छ । मस्क नेतृत्वको समूहले सोमबार ९७ अर्ब ४० करोड अमेरिकी डलरको यस्तो प्रस्ताव गरेको हो ।ओपनएआईले च्याटजीपीटी र अरू विश्व चर्चित शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण बनाइरहेको छ । योसँगै ओपनएआई गैरनाफामूलकबाट नाफामूलक बन्न थालेको छ । ओपनएआईलाई नाफामुखी हुनबाट रोक्न मस्कले यस्तो कदम चालिरहेका हुन् ।
जेनेरेटिभ एआई टेक्नोलोजीको भविष्यलाई लिएर मस्कले ओपनएआईका सीईओ साम अल्टम्यानसँग टकराव लिन सक्ने ठानिएको छ । मस्क नेतृत्वको समूहको ९७ अर्ब अमेरिकी डलरको प्रस्तावपछि अल्टम्यानले सामाजिक सञ्जाल एक्समा यसलाई अस्वीकार गरेका छन् ।अल्टम्यानले एक्समा ‘पर्दैन, धन्यवाद’ भन्दै बरु आफूहरूले नौ अर्ब ७४ करोड डलरमा ट्विटर (एक्स) किन्ने उल्लेख गरेका छन् ।मस्कले सन् २०१५ मा अल्टम्यानसँग मिलेर गैरनाफामुखी संस्थाका रूपमा ओपनएआईको स्थापना गरेका थिए । तर, उनले यो कम्पनी सुरु हुनुअघि नै छाडेका थिए । रोयटर्सबाट ।
Facebook Comment