तिलोत्तमाका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे
तिलोत्तमा नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा शुरु गरेको छ ।नगरपालिकाको वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं १०को सेमराबजार स्वास्थ्य चौकीबाट नगरका १७ वटै वडाका गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा दिन सुरु गरेको हो ।आनन्द वन स्वास्थ्य चौकीमा एक समारोहबीच नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले निःशुल्क भिडियो एक्स–रे सेवाको उद्घाटन गरे ।
नगर प्रमुख खाणले निःशुल्क भिडियो एक्स–रे सेवाले विशेषगरी आर्थिक रुपमा विपन्न परिवारका गर्भवतीलाई राहत मिल्ने बताए । नगरलाई लैंगिकमैत्री बनाउने गरी अघि बढेको सन्दर्भमा निःशुल्क भिडियो एक्सरे सेवाले थप टेवा पुग्ने उनले बताए ।उपप्रमुख चौधरीले रकम अभावमा विपन्न परिवारका गर्भवतीले भिडियो एक्स–रे नै नगरी बच्चा जन्माउने गर्दा आमा र बच्चाको स्वास्थ्य जोखिममा परेकोमा अब जोखिम कम हुने बताइन् ।तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले आफ्नै पहलमा दुई वर्ष अघिबाटै सशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको र अहिले संघीय स्वास्थ्य मन्त्रालयबाट १७ लाख रुपैयाँ मूल्यको पोर्टेबल अत्याधुनिक मेशिन प्राप्त भएपछि निःशुल्क भिडियो एक्सरे सेवा समावेश गरेको बताए ।नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गर्भवती महिलाले ४ पटक भिडियो एक्सरे गरी आमा र बच्चाको स्वास्थ्य अवस्था जानकारी लिनुपर्ने भएकाले यो सेवाले बाल तथा मातृ मृत्यु दर कम हुने बताए । भिडियो एक्सरे गर्ने मेशिन पोर्टेबल भएकाले १७ वटै वडामा घुम्ती शिविर चलाएर समेत गर्भवतीलाई सेवा दिने तयारी रहेको बताए ।
लुम्बिनी प्रदेशमा प्रति एक लाख जना गर्भवतीमा २०७ जना आमाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद चुदालीले देवदह मेडिकल कलेजकी रेडियोलोजिस्ट सुम्निमा आचार्यले गर्भवतीको भिडियो एक्सरे गर्ने गरी करार सम्झौता गरिएको बताए ।गर्भवती वाहेकका नगरवासीले एकपटकको ६५० रुपैयाँ तिरेर भिडियो एक्सरे सेवा लिन सक्ने चुदालीले जानकारी दिए ।
Facebook Comment