अमेरिकाले सय आप्रवासी भारत फर्काउँदा दश लाख डलर खर्च

ट्रम्प प्रशासनले कागजात नभएका अवैध आप्रवासीको निर्वासन गर्ने आफ्नो दृढ संकल्पलाई जोड दिन सैन्य विमान प्रयोग गर्न थालेको छ । तर, सैनिक विमान मिडियामा प्रसारका लागि राम्रो विकल्प भए पनि यसको प्रयोग निकै महँगो हुने देखिएको छ । एएफपी विश्लेषणका अनुसार हालै करिब सय आप्रवासीलाई भारत निर्वासन गर्न १० लाख डलर खर्च भयो । अर्थात्, आप्रवासी फिर्तीका लागि सैनिक विमानको खर्च नागरिक उडानको भन्दा तीन गुणा बढी हुने तथ्यांकले देखाउँछ ।डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा ‘अमेरिकाको इतिहासकै’ सबैभन्दा ठुलो निर्वासन अभियान चलाउने वाचा गरेका थिए । राष्ट्रपति जितेपछि उनले वाचाप्रति प्रतिबद्ध रहेको देखाउने प्रयास गरिरहेका छन् । उसो त अमेरिकाबाट निष्कासन हुन सक्ने सम्भावित अवैध आप्रवासीको ठुलो हिस्सा ल्याटिन अमेरिकाका छन् । तथापि केही भने विश्वका सुदूर कुनाका समेत छन् ।

अमेरिकी सरकारको एक विज्ञप्तिअनुसार गत बुधबार (फेब्रुअरी ५मा) अमेरिकी वायुसेनाको एक कार्गो विमान भारतको अमृतसरमा अवतरण भयो । विमानमा अवैध रूपमा अमेरिका प्रवेश गरेका १०४ जना भारतीय नागरिक भएको अमेरिकी सरकारको विज्ञप्तिले बताएको थियो ।एएफपीका फोटोग्राफरले खिचेका तस्बिरले त्यस दिन प्रयोग भएको विमान ‘सी–१७ ए ग्लोबमास्टर तृतीय’ भएको पाइएको छ । यो अमेरिकी सेना, तिनका सवारी साधन तथा रसदपानी ढुवानी गर्न सक्षम ठुलो प्रकृतिको सैन्य विमान हो । अमेरिकी वायुसेनाले ग्लोबमास्टरलाई सन् १९९५ मा सैन्य वाहनका रूपमा सूचीकृत गरेसँगै विश्वभरका धेरै सैन्य क्षेत्रमा प्रयोग गरिसकेको छ । यसबाट गरिने सैन्य उडान अवैध आप्रवासीको निष्कासनको ‘अध्यागमन र भन्सार प्रवर्तन (आइसिई)’ले आम प्रयोग गर्ने विधि चार्टर उडानभन्दा धेरै महँगो पर्ने देखिएको छ ।

सन् २०२१ मा आइसिईले जारी गरेको जानकारीअनुसार चार्टर उडानको लागत प्रतिघण्टा आठ हजार ५७७ डलर पर्छ, तथापि उच्च जोखिमयुक्त आप्रवासीलाई ढुवानी गर्दाको उडान खर्च भने केही बढी पर्छ ।यता यातायात प्रयोजनका लागि सी–१७ को प्रयोगमा प्रतिघण्टा २८ हजार ५६२ शुल्क लगाइने अमेरिकी वायु सेनाको मोबिलिटी कमान्डले प्रकाशित गरेको दस्ताबेजले बताउँछ ।सैन्य उडानले व्यावसायिक विमानले भन्दा फरक मार्ग प्रयोग गर्छन् । अन्य सार्वभौम देशको हवाई क्षेत्रमा सञ्चालन गर्दाको संवेदनशीलताका कारण यस्तो कदम उठाइन्छ । त्यस्तै तिनले इन्धन भर्दा सामान्यतया व्यावसायिक हबहरूको सट्टा सैन्य हवाई अड्डा प्रयोग गर्नुपर्छ । विमान उडानलाई ट्र्याकिङ गर्ने साइट फ्लाइटराडार २४ बाट प्राप्त तथ्यांकअनुसार भारतीय आप्रवासीलाई लिएर उडेको विमान फेब्रुअरी ५ मा क्यालिफोर्निया राज्यको सान डिएगोस्थित ‘मरिन कोप्र्स एयर स्टेसन मिरामार’बाट दिउँसो साढे एकमा उडेको थियो ।

त्यहाँबाट विमान पश्चिमतर्फ उड्यो । फिलिपिन्स नजिकैबाट यसले प्रशान्त महासागर पार ग¥यो । त्यसपछि विमान इन्डोनेसिया र मलेसियाबिचको आकाशबाट अघि बढ्यो । दक्षिणमा हिन्द महासागरमा लामो घुमाउरो बाटो लिएर डिएगो गार्सियाको सानो टापुमा अवस्थित अमेरिकी हवाई अड्डातर्फ लाग्यो । त्यहाँबाट विमान हजारौँ किलोमिटर उत्तरमा अवस्थिति भारततर्फ उड्यो । भारतको स्थानीय समयअनुसार बुधबार (फेब्रुअरी ७ मा) दिउँसो उत्तरपश्चिमी भारतीय राज्य पन्जाबको विमानस्थलमा विमान अवतरण ग¥यो । क्यालिफोर्नियाबाट उडान भरेको ४३ घण्टाभन्दापछि विमान पन्जाब ओर्लिएको थियो ।विमानले अमेरिकी हवाई अड्डामा फर्कने दूरीको समेत हिसाब गर्दा यस हवाई यात्राको मोटामोटी अनुमानअनुसार पनि उडान लागत १० लाख डलरभन्दा बढी हुन आउँछ । यो रकम विमानमा रहेका प्रत्येक आप्रवासीमा भाग लगाउँदा १० हजार डलरभन्दा बढी हुन आउँछ । जबकि, व्यावसायिक एयरलाइन्समा सान् फ्रान्सिस्कोबाट नयाँदिल्लीको एकतर्फी टिकट लगभग ५०० डलर वा बिजनेस क्लासमा चार हजार डलरमा किन्न सकिन्छ ।–एएफपीबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *