शशांक भन्छन्- समाजसेवा गर्न मान्छेको रंग र ढंग होइन, मन बदलिनुपर्छ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मनैबाट लगाव हुनुपर्ने बताएका छन् ।कागेश्वरी मनोहरामा रहेको असाहय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्दै उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताए । कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेकोमा प्रशंसा गरे । यसमा आफूले पनि सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा पूर्वमन्त्री दीपक गिरीले पनि गाई संरक्षणमा संस्थाको अभियानको सह्राहना गरे । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरेको तर केन्द्र सरकारले पनि स्वामित्व लिनुपर्ने बताए ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दीपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारी उपस्थित थिए ।यसैक्रममा कोइरालाले सो केन्द्रको परिसरमा वीपी कोइरालाका नाममा रुद्राक्षको बिरुवा रोपेका थिए भने त्यहाँ संरक्षण गरिएका गाईलाई पिठो खुवाएका थिए । उनले केन्द्रलाई ५० हजार बराबरको पिठो हस्तान्तरण गरेका छन् ।
एक सय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा २७१ वटा गाई तथा बाछा छन् । सडकमा बेवारिसे छोडिएका गाईबाछालाई केन्द्रले विगत ७ वर्षदेखि संरक्षण गर्दै आएको छ ।
Facebook Comment