कार्यालय समयमा काठमाडौंका सडकमा अत्यासलाग्दो जाम
जामका कारण बिहान र बेलुकाको समयमा छोटो दूरीको गन्तव्यमा पुग्न पनि धेरै समय लाग्नाले यात्रुहरू सास्ती खेप्न बाध्य हुन्छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंमा १५ लाख त मोटरसाइकलमात्रै दर्ता छन् भने तीन लाख हाराहारीमा चार पांग्रे सवारी साधन दर्ता छन्। दर्ता भएका सबै सवारी साधन एकैपटक नगुडे पनि काठमाडौंका सडकमा दैनिक १२ देखि १५ लाख सवारी साधन गुड्ने कार्यालयका प्रवक्ता एसपी सञ्जयबहादुर राउत बताउँछन्। उनका अनुसार बिहान ९ देखि ११ बजेसम्मको समयमा काठमाडौंका सडकमा सवारी साधनको अत्यधिक आवतजावत हुन्छ। यसले गर्दा सवारी साधन केहीबेर रोकिँदै गुड्दै गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।
’जाम भनेको धेरै समयसम्म सवारी साधन होल्ड भएर बस्नुपर्ने अवस्था हो। तर काठमाडौंका सडकमा त्यसरी लामो समय होल्ड नै भएर बस्नुपर्ने अवस्था हुँदैन। सवारी साधनको चाप र त्यसको तुलनामा साँघुरा सडकका कारण केहीबेर रोकिँदै गुड्दै गर्नुपर्ने अवस्था हुनुहुन्छ,’ उनले भने। कार्यालय समयमा अत्यधिक जाम पर्ने स्थानहरूमध्ये चाबहिल पनि मुख्य हो। चाबहिलदेखि गौशालासम्मको बाटो अलि साँघुरो र फुटपाथ पनि साँघुरो भएकाले ती क्षेत्रमा केही बढी जाम हुने एसपी राउतले बताए।काठमाडौंमा सवारी रोकिँदै गुड्दै गर्नुपर्ने अवस्थालाई जाम भएको भन्न नमिल्ने पनि उनी बताउँछन्।
Facebook Comment