मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई हत्या गरेको स्वीकारे
बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ परेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो ।उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको भने । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।‘उनी नियन्त्रणमा छन्, घटना हामीले अनुमान गरेजस्तै उनीबाटै भएको स्वीकारे’, भट्टराईले भने ।
महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए ।‘उनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिन्छ’, वृत्तका एक प्रहरी अधिकृतले भने ।बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी चलाएनन् । इनड्राइभबाट मोटरसाइकल मगाए । उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगे ।त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारनगञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले उनले आत्मसमर्पण गरेको खबर दियो ।‘हाम्रो टोलीले सोधपुछ गरेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइदिन्छौ’, एसएसपी भट्टराईले भने ।
Facebook Comment