‘जीन्दगी चल्न त चल्या छ…’ बोलको गीत सुन्न सरकारलाई रास्वपा सांसदको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्की भण्डारीले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाव दिएकी छिन् ।आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले जनताको आक्रोशलाई बेवास्ता गर्ने हो भने सरकारले अझै चर्को मूल्य चुकाउनुपर्ने जिकिर गरिन् ।देशमा भ्रष्टाचार, कानुनी विभेद, अन्याय, महंगी, बेरोजगार लगायत बढ्दै गएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

‘देशमा भ्रष्टाचारले जरा गाडेको गाड्यै छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खप्नुपरेको छ । जनता महंगी, बेराजगारीको मारमा छन् । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बन्न पुगेको छ । तर, सरकार कहाँ छ ?,’ सांसद कार्कीको प्रश्न छ ।जनताको पीडा सुन्नुपर्ने बेलामा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाइन् ।‘जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ । नयाँ नेतृत्वलाई सिध्याउने र होच्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ,’ सांसद कार्कीले भनिन्, ‘राजाको आह्वानमा सडकमा जनता ओर्ले भनेर गालीगलौजमा व्यस्त छ ।’उनले नेपाली जनता कुनै राजा फर्काउन नभई नेताहरूकै अकर्मण्यता र भ्रष्टाचारबाट निराश र दिक्क भएको बताइन् ।‘तर, नेपाली जनता कुनै राजा फर्काउने होइन, नेताहरूकै अर्कमण्यता र भ्रष्टाचारले निराश र दिक्क भएर सडकमा निस्केका हुन्,’ कार्कीले भनिन् ।

यस्ता सन्दर्भ सुनाउँदै उनले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सम्झिइन् ।‘श्री भूपु पाण्डेको जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्ने गीतले जनताको पीर मर्काको हुबहु बयान गर्छ । सरकारले कमसेकम यो गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्,’ उनले भनिन्, ‘किनकी जनताको यो आक्रोशलाई अझै बेवास्ता गरियो भने यसको मूल्य अझै चुकाउनुपर्ने हुनेछ । त्यो मूल्यको जिम्मेवारी सरकारले नै बोक्नुपर्नेछ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *