सार्वजनिक जग्गाको संरचना रोक्न पुगेका वडाध्यक्षमाथि रड प्रहार
पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका छन् ।आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड हानेको वडाध्यक्ष सुवेदीले बताए ।‘सार्वजनिक जग्गामा संरचना नबनाउन हामीले धेरैपटक आग्रह गरियो । तर, रातारात संरचना बनाउने काम भयो । त्यसलाई रोक्न नगरप्रहरीसहित त्यहाँ पुगेका थियौं । कुरा गर्ने क्रममा उहाँले रड प्रहार गर्नुभयो,’ उनले भने ।
वडाध्यक्ष र उनीसँग गएका एकजनाले प्रतिरोध गरेकाले रडले भने लाग्न पाएन । अहिले यही विषयमा छलफल गर्न वडा समिति र सर्वपक्षीय बैठक डाकिएको सुवेदीले बताए ।पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा गरेका छन् । घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गरेको भन्दै उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।


Facebook Comment