कास्की अदालतको आदेशलगत्तै रविलाई रुपन्देही लगिने, प्रतिवेदन लेख्दै प्रहरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा मुद्दामा जिल्ला अदालत कास्कीमा बयान चलिरहेको छ । सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको अभियोगमा रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको थियो । उनको बयान सकिएको छैन । बयान सकिएलगत्तै थुनछेक बहस शुरू हुनेछ ।रविविरुद्ध तीनवटा विकल्पमध्ये एउटा विकल्पमा अदालतले आदेश गर्नसक्ने देखिन्छ । पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुन सक्छ । कास्की अदालतको आदेशपछि रविलाई सुप्रिम सहकारी ठगीको मुद्दा प्रक्रियामा रुपन्देही लैजाने तयारी छ । सुप्रिमबाट रविकै नाममा २ करोड रुपैयाँ गोरखा मिडियामा गएको देखिएको छ ।
रविविरुद्ध रुपन्देही प्रहरीले सरकारी वकिल कार्यालयमार्फत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ । रविले नक्कली ऋणी खडा गरेर सुप्रिमबाट ऋण लिएका थिए । रुपन्देही सरकारी वकिल कार्यालयमा रविले इन्कारी बयान दिएका थिए । तीन दिनमा २३ घण्टा बयान दिएका रविलाई ७४ वटा प्रश्न सोधिएको थियो । ‘हामीले अनुसन्धान प्रतिवेदन तयार गरिरहेका छौं, रविका बारेमा कास्की अदालतबाट कस्तो आदेश आउँछ, त्यो हेरेलगत्तै रुपन्देही ल्याउँछौं,’ रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले लोकान्तरसँग भने, ‘पूर्पक्षमा थुनामा पठायो भने यता ल्याउन केही समय लाग्छ ।’पूरक उजुरीकै आधारमा रुपन्देही प्रहरीले रविविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि अनुसन्धानमा तानिएका छन् । पहिलो चरणको अनुसन्धानमा रुपन्देही प्रहरीले २८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यतिबेला रविविरुद्ध उजुरी परेको थिएन । अनुसन्धान सकाएर प्रहरीले सरकारी वकिल कार्यालयमार्फत रुपन्देही अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पूर्पक्षमा थुनामा राख्न आदेश दिएको थियो ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसहित ६ जनालाई भने अदालतले धरौटी लिएर छाड्न आदेश गरेको थियो । २८ प्रतिवादीमध्ये अधिकांश अहिले पनि फरार नै छन् ।फरार हुनेमा सहकारीका सञ्चालक समिति अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अली सिद्धिकी, बुद्धि गुरुङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, भगवती लिगल ढुंगाना, मनप्रसाद गुरुङ, पौबहादुर गुरुङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी र कविता तामाङ छन् । १ हजार ८३१ बचतकर्ताको १ अर्ब ३१ करोड रुपैयाँमध्ये ८६ करोड १८ लाखभन्दा बढी अपचलन भएको थियो । २०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी जीबीले २०७२ फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए ।
Facebook Comment