एमाले नेता नेपालको निधन, पार्थिव शरीरमा झण्डा नओढाइने

काठमाडौं— नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ। लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेपालको उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।

नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो। नेता नेपालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको भाइ समीर नेपालले जानकारी दिए ।

नेपालको अन्तिम संस्कार आफ्नै इच्छाअनुसार गरिने भएको छ । हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

स्वर्गीय नेताले मृत्युअघि छाडेको इच्छापत्रबमोजिम अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । त्यसैले पार्थिव शरीरमा पार्टीको झण्डा नओढाइने परिवारजनले बताएका छन् ।

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए। नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए। नेपाल शिक्षामन्त्रीसमेत बनेका थिए।

एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका नेपालले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुवात गरेका थिए ।

२०८० साल चैत ३० मा भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि उनी सार्वजनिक कार्यक्रममा त्यति धेरै सक्रिय रहेनन् ।

स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा पनि निष्क्रिय थिए। नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *