महेश बर्तौला भन्छन्— संसद्को तेजोवध नगरौं, जादुवाला नम्बरको अभिव्यक्ति क्षणिक भ्रम हो

काठमाडौं— नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले निराशाको सञ्चार संसद्‌बाटै गरिएको भन्दै आपत्ति जनाएका छन्।। आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै बर्तौलाले संसद्को तेजोवध गर्ने गरी सांसदको अभिव्यक्ति आएकोप्रति आक्रोश व्यक्त गरेका हुन्।

सरकारले काम गर्न नसकेको आरोपको खण्डन गर्दै उनले आफू सत्तामा भएको भए जादूगरले जसरी गर्छु भनेर भ्रम फैलाइएको दाबी गरे।

‘जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ। तर, त्यो सत्य होइन, त्यो केवल भ्रम हो।’ बर्तौलाले भने, ‘संसद्‌मा पनि यस्ता प्रवृत्ति देखिरहेका छौं, जादुगरले पैसाको नोट निकालेजस्तो जादुवाला नम्बर भएकाबाट यस्ता अभिव्यक्ति सुनिरहेका छौँ, त्यो क्षणिक भ्रम हो।’

बर्तौलाले संसद्को समग्र प्रभावकारिताका लागि सिङ्गो संसद् र सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताए। सत्तापक्ष र प्रतिपक्ष संसदीय प्रणालीमा स्वभाविक रहेपनि सरकारमा नभएका कारण अनावश्यक रुपमा प्रतिपक्षीले गर्ने टिप्पणी देशका लागि उचित नभएको उनको दाबी छ।

बर्तौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारण अगाडि बढाउनुपर्नेमा जोड दिए। बर्तौलाले अनौपचारिक क्षेत्रका ४० लाख मजदूरलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई बजेटमा जोड दिनुपर्ने बताए। उनले यस अगाडि राजश्वमा आधारित भएकाले राज्यकोषलाई व्ययभार पर्ने भएकाले अबका दिनमा योगदानमा आधारित बनाउनुपर्ने तर्क गरेका हुन्।

सबै कम्पनीलाई नवीकरण गर्दा सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भए नभएको हेर्ने हो भने श्रमिकलाई पनि न्याय हुने उल्लेख गरे। बर्तौलाले सबे स्वरोजगारहरुलाई सामाजिक सुरक्षामा जोड्ने गरी प्रभावकारी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

उनले सांसद विधायकी भएपनि निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न सांसद्‍को निर्वाचन क्षेत्रमा बजेट राख्नुपर्ने आवश्यकता भएकाले नकरात्मक टिप्पणी नगर्न आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *