दुर्गा प्रसाईंको अस्पताल लिलाम गर्न अदालतले फुकाइदियो बाटो
बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले मंगलबार (हिजो) खारेज गरिदिएको हो ।
“केही दिन सम्झौताको अवधि बाँकी रहेको भन्दै त्यतिन्जेलसम्म रोकिदिनका लागि निषेधाज्ञाको रिट परेको थियो । मंगलबार रिट खारेज हुने आदेश भएको छ,” उच्च अदालत विराटनगरको इलाम इजलासका रजिस्ट्रार तीर्थराज भट्टराईले बाह्रखरीसँग भने, “उहाँहरूबाट माग नभएकाले संक्षिप्त आदेश भएको छैन । केही सयममै आदेशको पूर्णपाठ आउनेछ ।”
रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । ऋण असुली नभए बैंकले प्रसार्इंको पूर्वाञ्चल क्यान्सर अस्पताल लिलाम समेत गर्न सक्नेछ ।पछिल्लो समय प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरू ऋण असुली गर्न जान नसक्नेसम्मको अवस्था निम्तिएको थियो ।
प्रसाईंले समूह नै खडा गरेर लघुवित्तविरुद्ध आन्दोलन चर्काएका थिए । आफ्नै अस्पतालका निम्ति लिएको ऋणको असुली रोक्न भने प्रसाईं अदालत गएका थिए । न्यायाधीशले राय किताबमा ‘निवेदकले विपक्षी बैंकउपर यसै निवेदनलाई उल्लिखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत् परिपालन गराई पाऊँ भनी मुद्दा दायर गरी साधारण क्षेत्राधिकारअन्तर्गत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसकेको देखिएको र मिति २०८०–१– १० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएको’ उल्लेख गरेका छन् ।
Facebook Comment