सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त बनाइने

 

नेपालमा २०३० सम्म बालविवाह अन्त्य गर्ने उद्देश्यसहित ‘बालविवाहमुक्त नेपाल’ राष्ट्रिय अभियान सुरु गरिएको छ । अभियानको सुरुवात मंगलबार काठमाडौंमा मैनबत्ती ¥यालीबाट भएको छ । मैनबत्ती बाल्ने कार्यक्रममा नेपाल र भारतका बाल अधिकारकर्मी, बालबालिका र स्थानीय बासिन्दा सहभागी थिए । अभियानलाई जस्ट राइट्स फर चिल्ड्रेन र ब्याकवर्ड सोसाइटी एजुकेसनले सहयोग गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग तथा बाल अधिकार र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागीले बालविवाहलाई समाजको ठूलो अपराधका रूपमा चित्रण गर्दै यसको नकारात्मक प्रभावबारे जागरुकता फैलाउने बताए । यसै क्रममा अभियन्ताहरूले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर यसबारेमा ध्यानाकर्षणसमेत गराएका थिए ।

ओलीले अभियानप्रति ऐक्यबद्धता जनाउँदै यसलाई सफल बनाउन सरकारको पूर्ण समर्थन रहने बताए । नेपाल बालविवाहविरुद्ध कडा कानुनी प्रावधान भएको देशमध्ये एक भए पनि दक्षिण एसियामा बालविवाहको उच्च दर भएको दोस्रो देश मानिन्छ । नेपालमा हाल छोराछोरी दुवैका लागि कानुनी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *