सहकारी ठगी प्रकरण: कास्की अदालतमा आजदेखि रवि लामिछानेसहित प्रतिवादी तर्फका वकिलहरूले बहस गर्ने
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ।कास्की जिल्ला अदालतमा शुक्रबारदेखि लामिछानेसहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्दैछन्।बिहीबार जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरुले बहस गरेका थिए। समय अभावका कारण बिहीबार प्रतिवादी तर्फका वकिलहरूले बहस गर्न पाएनन्। मंगलबार र बुधबार सरकारी वकिलले बहस गरेका थिए।सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए। शुक्रबार प्रतिवादीतर्फ छबिलाल जोशी पक्षको अधिवक्ताहरूले बहस गर्नेछन्।
त्यसपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने तयारी भएको लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जानकारी दिए।‘प्रतिवादीका तर्फबाट बहस गर्दा भोलि छविलाल जोशीका कानुन व्यवसायीले बहस गर्नुहुनेछ, त्यसपछि मात्र हाम्रो पालो आउला,’ घिमिरेले भने।सहकारी पीडितका कानुन व्यवसायी पराजुलीका अनुसार रवि लामिछानेका तर्फबाट १५ जना, पूर्वडिआइजी जोशीका तर्फबाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फबाट २÷२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।
यो पनिः अमेरिकामा कर छलेको कुरा उठेपछि रवि लामिछानेले इजलासमै जनाए आपत्ति
सूर्यदर्शन सहकारी ठगी आरोपमा पीडितले दिएको पूरक जाहेरीका आधारमा अहिले ७ जनाविरूद्ध अदालत थुनछेक बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्व डिआइजी जोशी, नेचर हब्र्स इन्टरनेसनलका संचालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङविरूद्ध अदालतमा थुनछेक बहस चलेको हो।जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारी ठगी आरोपमा गत वर्ष असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि जिल्ला अदालतमा विचाराधीन छ। उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग अदालतमा पेस गरिएको छ।
पढ्नुस्ः रवि लामिछानेसहित सातै जनालाई कारागार पठाउन सरकारी वकिलको बहस
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ।पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको थियो।सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।
Facebook Comment