अहमदावादमा दुर्घटना: २४१ को मृत्यु, एक जना बचे

काठमाडौं- भारतको अहमदावादमा दुर्घटना भएको एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ जहाजमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको एयर इन्डियाले जनाएको छ ।

एकजना भने बाँच्न सफल भएको र उनको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा बाच्न सफल यात्रु भारतीय मूलका ब्रिटिश नागरिक भएको बताइएको छ ।

विमान दुर्घटना भएपछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए। त्यसैक्रममा ४० वर्षीय रमेश कुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरै जना चकित परेका थिए। उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बेलायती नागरिक रमेशले आफन्तलाई भेट्न भारत आएको बताए। भारत बसाइका क्रममा दाजु अजयसँग विभिन्न स्थानमा घुमघाम पनि गरेको उनको भनाइ छ। एयर इन्डियाको जहाजबाट दाजुसँगै उनी सवार रहेका थिए। आफू बाँच्न सफल भए पनि दाजु अहिलेसम्म फेला नपरेको उनले गुनासो गरे।

रमेशले विमान उडेको ३० सेकेन्डमै पड्किएको जस्तो आवाज आएको बताए। ‘विमान उडेको झण्डै ३० सेकेन्डपछि ठूलो आवाज आयो र त्यसपछि दुर्घटना भयो,’ उनले भनेका छन्। सबै कुरा यति छिटो भयो केही सोच्नै नसकेको उनको भनाइ छ।

दुर्घटनापछि आफू होसमा आउँदा वरिपरि लाशहरू देखेको उनले बताए। ‘जब म होसमा आएँ, मेरो वरिपरि लाशहरू थिए। म डराएँ। उठेर दौडिएँ। चारैतिर विमानका टुक्रा-टुक्रा फैलिएका थिए। कसैले मलाई समाते र एम्बुलेन्समा हालेर अस्पताल ल्याए,’ उनले भने।

रमेश विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन्। उनकी पत्नी र बच्चााहरू पनि लन्डनमै बस्छन्। उनले आफ्ना दाजु अयजलाई खोजिदिन अपील पनि गरे। दाजु र आफू फरक फरक ठाउँमा बसेको उनको भनाइ छ।

बिहीबार १:३९ बजे अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको ७८७ विमान केही क्षणमै दुर्घटनामा परेको थियो। उक्त विमान डाक्टरहरू बस्ने होस्टलमा खसेको थियो।

विमानमा चालक दलका सदस्य १२ जनासहित २४२ जना यात्रा गरिरहेका थिए । एयर इन्डियाका अनुसार विमानमा १६९ भारतीय, ५३ ब्रिटिश, सात पोर्चुगिज र एक क्यानेडेली नागरिक थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *