रास्वपा र राप्रपालाई सभामुखले भने – महत्त्वपूर्ण विधेयकमा प्रमुख दल छुट्नु राम्रो होइन, संसदीय प्रक्रियामा सहभागी बन्नुहोस्

काठमाडौं । सभामुख देवराज घिमिरेले महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो नहुने बताएका छन्। प्रमुख ५ दलका मुख्य सचेतक, प्रमुख सचेतक,सचेतकसँग छलफल गर्दै उनले संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै दल सहभागी हुन आग्रह गरेका हुन्।

उनले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुख घिमिरेले आग्रह गरे। ‘सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई आग्रह गर्दछु। महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो हुँदैन।’ उनले भने, ‘निजामती शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन अनुरोध छ।’

प्रतिनिधिसभाको बैठक आज दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ र संघीय निजामती सेवा विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिनिधिसभामा असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भएपनि रास्वपाले संसद् अवरोध गरेपछि बैठक स्थगित भएको थियो। प्रतिनिधिसभाले विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *